नाटकीय ढंगले संसद बैंठकमा टेबल भएको संविधान संशोधन विधेयकले नेपाली राजनीतिमा अनेक तमासा देखाउने लक्षण देखिएको छ ।
यो विधेयक पारित नगरी नछाड्ने सत्तापक्षको अडान र भारतीय दवाब पारित गर्न नदिने प्रतिपक्षि एमालेको रणनीतिले एकथरी सांसद तथा पार्टीहरु मालामाल हुने र देशको चाहिं बेहाल हुने लक्षण पनि देखिन थालेको छ ।

विधेयक पारित गर्न दुई तिहाई नभई नहुने हुनाले त्यसका लागि मन्त्रीपद दिएर हुन्छ कि दाम दिएर हुन्छ, मन्त्री पद र दाम दूवै दिएर हुन्छ कि जसो गरेर पनि पारित गर्ने चक्करमा प्रचण्ड सरकार लागिपरेको छ । र, सरकार दुवै हात खुल्ला गरेर र थैली समेत बोकेर मैदानमा उत्रिएपछि सांसदको मोल पाँच करोड रुपैयाँसम्म पुगेको समाचार केही मिडियाले दिएका छन् ।
०७३ पुस २४ गते व्यवस्थापिका संसदमा टेबुल भएको संविधान संशोधन विधेयक अब प्रक्रियागत रुपमा अघि बढेता पनि यसको टुंगो लाग्न झण्डै दुई महिना लाग्ने देखिएको छ । संविधान संशोधन विधेयक विरुद्घ शत्तिशालि विपक्ष दल एमालेको नेतृत्व अन्य आठ दल पनि आन्दोलनरत छन् ।
संविधान संशोधन विधेयकको पक्षमा दुई तिहाई पु¥याउन सरकारलाई कम्तीमा ३९६ जना सांसद चाहिन्छ । तर, संविधान संशोधनको विपक्षमा अहिले नै स्पष्ट रुपमा २ सय जना भन्दा बढी सांसद उभिइसकेका छन् ।
माओवादी केन्द्रका सांसदहरु टापबहादुर रायमाझीलगायतले सांसद पदलाई तिलाञ्जली दिएर भएपनि संविधान संशोधनको विपक्षमा मतदान गर्ने अडान लिएका छन् । त्यस्तै नेपाली काग्रेसका सांसद धनराज गुरुङ, चन्द्र भण्डारी र अमर मगरले पनि संशोधन विधेयक विरुद्घ आफूलाई उभ्याएका छन् ।
संशोधन विधेयकलाई लिएर राप्रपाभित्र असहज अवस्था उत्पन्न भएको बुझिन्छ । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष कमल थापालाई मालदार मन्त्रालय सहित उपप्रधानमनत्री पदको प्रस्ताव राखेको बुझिन्छ ।
त्यसपछि थापा धर्मराउन थालेको र संशोधन विधेयकको पक्षमा उभिने लक्षण देखाएको भन्दै राप्रपा भित्र हल्लीखल्ली मच्चिएको छ । राप्रपाभित्रको राष्ट्रवादी खेमा कुनै हालतमा संविधान संशोधन प्रस्ताव पास हुन नदिने पक्षमा छ ।
कमल थापा वरिपरि रहेकाहरु पनि यो विधेयक पारित ग¥यो भने पार्टी सिद्घिन्छ भनिरहेका छन् । तर, पशुपति शमसेरको समूह भने जुनसुकै हालतमा संविधान संशोधन विधेयक पास हुनु पर्छ भन्ने पक्षमा रहेको छ ।
तर, कमल थापा भने जसरी पनि मन्त्रीमण्डलमा छिर्ने र जस्तोसुकै संशोधन विधेयक पनि समर्थन गर्ने पक्षमा उभिदै गएका छन् ।
संविधान संशोधनको पक्षमा मतदान गर्ने पार्टी र सांसदहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनलाई सत्तारोहण गर्ने शक्तिले प्रति सांसद रु ५ करोडसम्म नगदमा खरिद गर्ने बजार हल्ला आजभोलि ब्यापक हुने गरेको छ ।
साँघु साप्ताहिकबाट ।







