नेपाली चेली तेरिया मगरले भारतको टेलिभिनज ‘झलक दिखला जा’ को उपाधि जितेकी छिन् ।

तेरियाले यस अघि जी टेलिभिजनबाट प्रशारण हुने ‘डान्स इन्डिया डान्स’ को उपाधि जितेकी थिइन । तेरियाले उपाधि उचालेको शो भने शनिबार साँझ कलर्स टेलिभिजनले प्रशारण गर्नेछ ।
आफ्नी नातिनी तेरिया फौजामगरले उपाधि जितेको उनका हजुरबुबा कृष्णबहादुर फौजामगरले अन्नपूर्णलाई जानकारी दिए ।
नातिनीको प्रतिभामा निखार ल्याउन उनले निरन्तर प्रयास गरे । अहिले पनि नातिनीका लागि खटिरहेकै छन् ।
तेरिया भारतीय टेलिभिजन ‘कलर्स’ बाट प्रसारित चर्चित डान्स रियालिटी सो ‘झलक दिखलाजा’को फाइनलमा पुगेपछि उनलाई भोटका लागि सबैलाई अनुरोध गर्न केही दिनअघि ६५ वर्षीय कृष्णबहादुर राजधानीमा आएका थिए ।
सन् २०१४ मा भएको ‘डान्स इन्डिया डान्स’ (डीआईडी) सिजन ३ को विजेता बनेपछि हजुरबुवा कृष्णबहादुरमात्रै होइन, सिंगो नेपाल गौरवान्वित बन्यो । कडा प्रतिस्पर्धाबीच ‘झलक दिखलाजा’को यस सिजनको उपाधि जित्न समेत सफल भएकी छिन् ।
प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा शनिबार (जनवरी २१) मा हुँदैछ । फाइनलमा तेरियाले डीआईडी सिजन १ का विजेता सलमान युसुफ खान र वल्र्ड हिपहप च्याम्पियन सानतुन महेश्वरीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।
तेरियाले उपाधिसँगै तीस लाख भारु र रेनाल्ड डस्टर ब्रान्डको कार पाएकी छिन् । सन् १९९६ मा भारतीय सेनाबाट अवकाश पाएका कृष्णबहादुरले नातिनीका लागि गरेको योगदान निकै उल्लेखनीय छ ।
सानै उमेरदेखि नातिनीको प्रतिभा नियालेका उनी भन्छन्, ‘उसलाई पाँच वर्षदेखि नाच सिकाउन बुटवलबाट २३ किलोमिटर टाढा रुद्रपुरको बागेश्वरी संगीतालयमा लान्थेँ ।’
हरेक दिन नातिनी लिएर संगीतालय पुग्ने र एक घन्टा अभ्यासपछि घर लिएर फर्किने अनि स्कुल पठाउने गर्थे उनी । नातिनीका बाल्यकाल सम्झँदै उनले थपे, ‘उसको भविष्य उज्ज्वल छ भन्ने लाग्थ्यो ।
तर, अवसर नदिएसम्म लुकेका प्रतिभा बाहिर ल्याउन सकिन्न भनेर म आफैंले नातिनीलाई सघाउन थालेँ ।’ तेरिया बच्चादेखि नै गाउँघरमा हुने कार्यक्रमलगायत देउसीभैलोमा रोजाइमा पर्थिन् । उनको नृत्य सबैले मन पराउँथे ।







