४५ औं अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले शुक्रबार सपथ लिएका छन्। प्रतिद्वन्द्वी हिलारी क्लिन्टनलाई पराजित गरेर उनी राष्ट्रपति बन्न पुगेका हुन् ।

ट्रम्पले आफ्नो उद्घाटन मन्तव्यका क्रममा आगामी चार वर्षभित्र देशको उच्च आर्थिक विकास गर्ने बाचा गरेका छन्। सीमा क्षेत्रको नियन्त्रण र संसारभरि अमेरिकाको सम्मान पुनर्स्थापित गरेर महान् राष्ट्रका रुपमा चिनाउने प्रतिबद्धता पनि उनले दोहोर्याएका छन्।
‘हामी अमेरिकी नागरिकहरू देश पुनर्निर्माण गर्ने राष्ट्रिय अभियानमा अहिले एकताबद्ध भएका छौं,’ उनले भने, ‘हाम्रो अहिलेको प्रयासले नै आगामी वर्षहरूमा अमेरिका र यो संसार कता जान्छ भन्ने बाटो निर्क्यौल गर्नेछ। यसमा हामीले पक्कै पनि थुप्रै चुनौतीहरू सामना गर्नुपर्छ। कठिनाइहरू आउनेछन्। तर, हामी आफ्नो अभियानमा अवश्य सफल हुनेछौं।’
आफ्नो सपथग्रहणलाई शान्तिपूर्ण शक्ति हस्तान्तरणका रूपमा नलिन आग्रह गरे ।
‘यो एउटा व्यक्तिबाट अर्को व्यक्तिमा शक्ति हस्तान्तरणको क्षण मात्र होइन, यो वासिङट्न डिसीबाट आमजनतामा शक्ति हस्तान्तरण भएको क्षण हो। लामो समयदेखि राजधानीमा बस्ने सानो समूहले मात्र सरकारी सेवाहरूको लाभ उठाए, जबकि आमजनताले भने त्यसको मूल्य चुकाउनुपर्यो। वासिङ्टन फस्टायो, तर आमजनताले त्यसको लाभ पाएनन्।’ ट्रम्पले भनेका छन्- ‘राजनीतिक नेताहरू समृद्ध भए, तर कारखानाहरू बन्द भए, जनता बेरोजगार भए। हाम्रो देशको संस्थापन पक्षले आफ्नो त संरक्षण गर्यो, तर देशका नागरिकहरूलाई सुरक्षित तुल्याउन सकेन। उनीहरूको जित आमजनताको जित हुन सकेन ।’
अहिलेसम्म चलिआएको यो प्रवृत्तिलाई आफ्नो कार्यकालमा बदलेरै छाड्ने दृढता व्यक्त गर्दै ट्रम्पले अमेरिकालाई संसारकै उत्कृष्ट राष्ट्रका रूपमा स्थापित गराउने बताए।
रातो टाई र गाढा रङको सुटमा सजिएका ट्रम्पले आफ्नो दाहिने हात उठाउँदै प्रधानन्याधीश जोन जी. रोबर्टस् जुनियरबाट ३५ शब्दको सपथ लिएका थिए।
सपथग्रहण समारोहमा पत्नी मेलनिया ट्रम्प पनि सँगै थिइन्। सपथग्रहणलगत्तै आफ्नो कार्यभार सम्हालेका ट्रम्पले केही महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेर आफ्नो राष्ट्रपतीय कार्यभार सुरु गर्ने अनुमान गरिएको छ।
खासगरी निर्वतमान राष्ट्रपति बाराक ओबामाको स्वास्थ्य सुविधा कार्यक्रम उल्ट्याउनुका साथै, आप्रवासी नीति र सीमा सुरक्षाका विषयमा उनले नयाँ निर्णय लिनसक्ने आशंका छ।







