मादक पदार्थविरुद्ध एक वर्ष अघिदेखि अभियान छेडेको बिहार सरकारले शनिवार एकसाथ दुई करोड मानिसलाई सडकमा उतारेको छ।

बिहारमा मदिराविरुद्ध सरकारी अभियानलाई साथ दिँदै सर्वसाधरण एकसाथ सडकमा उत्रेका हुन् । मदिराविरुद्ध छेडिएको अभियानका क्रममा त्यहाँका बासिन्दा ११ हजार २ सय ९० किलोमिटर लामो मानव साङ्ग्लो बनाएका हुन् ।
यो विशाल मानव साङ्ग्लोमा बिहारका सबै पार्टीका नेतासँगै मुख्यमन्त्री नीतीश र लालुप्रसाद यादव पनि सहभागी भए ।
यो विश्वकै सबैभन्दा ठूलो र लामो मानव साङ्ग्लो बन्न सफल भएको छ। जसमा २ करोड भन्दा धेरै मानिसले भाग लिएका छन् । यस अभियानमा बसै पार्टीका नेता एक साथ सडकमा निस्किए । यसमा जनता दल युनाइटेड र आरजेडीका साथै बीजेपी पनि सामेल भयो ।
यस मानव साङ्ग्लोको लम्बाई ११ हजार किलोमिटर भन्दा धेरै रहेको बताइएको छ । यसको निगरानी ड्रोन र हेलीकोप्टरबाट गरिएको थियो । खबर अनुसार यसमा २ करोड भन्दा धेरै मानिस सहभागी भए । ६ हेलीकोप्टर र ३८ ड्रोनबाट यसमा निगरानी गरिएको थियो ।
यसैबीच समस्तीपुरमा मानव साङ्ग्लोमा उभिएका ८ जना विद्यार्थी बेहोस भएका छन् । उनीहरुला गम्भीर अवस्थामा सदर अस्पतालमा भर्ना गरिएको छ ।
यिनमा एक छात्र मनीष कुमारको अवस्था नाजुक रहेको छ। रोहतास जिल्लामा पनि ४ बालबालिका बेहोस भएका छन् । यसका अलावा मानव साङ्ग्लोका कारण उत्तरप्रदेशबाट छिर्ने कयौँ गाडीलाई पनि रोकिएको छ ।
यस ऐतिहासिक मानव साङ्ग्लोमा सहभागी हुन मूख्यमन्त्री नीतीश कुमारले बिहारबासीप्रति आभार व्यक्त गरेका छन् । उनले मदिरा मुक्ति अभियानको पक्षमा उर्लिएको जनसागरका लागि बिहारका जनतालाई लाखौँ लाख धन्यवाद दिएको बताएका छन् ।








