यदि चुनावमा गयो भने मोहन वैद्य नेतृत्व माओवादीको देशभक्त जनगणतान्त्रिक मोर्चाको कार्यगत एकता कोसँग होला ?

यसमा प्रचण्ड र विप्लव नेतृत्वको माओवादी उनी निकट हुन सक्छ । तर, विप्लव माओवादीले चाहिँ अहिलेसम्म चुनावलाई अस्वीकार नै गरेको छ । प्रचण्ड नेतृत्वको माओवादीसँग चुनावी सहकार्यको सम्भावना छ ?

मोर्चाका अध्यक्ष सिपी गजुरेल नकार्छन् ‘त्यो सम्भावना नै नभएको कुरा हो । प्रचण्डजी र हामीबीच कुनै पनि कुरा मिल्दैन । यस्तो अवस्थामा उहाँको पार्टीको एजेण्डा र हाम्रो एजेण्डा बिल्कुल फरक हुन्छ । त्यस्तो अवस्थामा कसरी सहकार्य हुन्छ ? सम्भावना नै छैन ।’

विप्लब चुनाव वहिष्कार गर्ने र प्रचण्डसँग सहकार्य नै गर्न नसक्ने अवस्थामा कसका लागि यो विकल्प खुला राखिएको हो ? गजुरेल भन्छन्, ‘सहकार्य गर्दा माओवादी भन्ने मापदण्ड पनि कायम रहँदैन । अघि भनेजस्तै देशभक्त र जनगणतन्त्रवादी एजेण्डा मिल्ने शक्तिसँग हाम्रो सहकार्य हुन्छ ।’

गजुरलेकै उनकै मुल पार्टीसँग सम्बन्ध विच्छेद गरेर नयाँ पार्टी बनाएका विप्लब माओवादी चुनावमा भाग लिने या नलिने भन्ने कुराको टुंगोमा पुगेको छैन । स्रोतका अनुसार आगामी पार्टी महाधिवेशनमा यस विषयमा पनि छलफल हुन सक्छ । ‘बाहिर सुन्दा त उहाँहरुको नीति चुनाव बहिष्कार नै गर्ने भन्ने छ रे ! यदि चुनावमा भाग लिए भने छलफल होला’ गजुरेल आशा गर्छन ।

एकातिर पार्टीको वर्ग संघर्षको रणनीतिक तयारी अर्कोतिर वैधानीक कार्यनीति सहितको मोर्चा बनाएर चुनावी कार्यक्रम । के हुन्छ त परिणाम ?

पार्टीको एजेण्डा र देशैभरीको पार्टी विभाजन पश्चात वाँकी रहेको आफ्नो संगठनको भरमा पनि सकरात्मक परिणाम आउने बताउँछन् मोर्चाका अध्यक्ष गजुरेल ।

उनी भन्छन्, ‘हार या जितले हामीलाई खासै ठुलो असर पार्दैन । चुनाव नै जितेर ठुलो शक्ति बन्ने र त्यसैमा रमाउने भन्ने हाम्रो उद्येश्य पनि छैन । चुनावमा जित्नकै लागि भनेर कसैसँग अपवित्र सम्झौता पनि गरिदैन । हामीले त वैधानिक संघर्षका कार्यक्रमहरु बनाएर अघि बढ्ने हुन्छ । त्यसका लागि सबैभन्दा पहिले त आफ्नै शक्तिमा अघि बढ्छौँ, त्यसपछि वाँकी विकल्पहरुका बारेमा सोच्छौँ । त्यस्तो अवस्थामा हाम्रो एजण्डामा मात्रै जनताले मत दिने अपेक्षा हाम्रो छ ।’

रातोपाटीको सम्पादित अंश ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार