नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीले मालेमावादी दर्शनको क्षेत्रमा नयाँ छलाङ हान्नेतिर गएको छ ।
रोल्पाको थबाङमा हुन गइरहेको महाधिवेशनबाट पार्टीले माक्र्सवादका तीनवटै संघटक अंगमध्ये दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा नयाँ विकास गर्नतिर गइरहेको पार्टीका नेताहरुले बताएका छन् ।

दर्शनको क्षेत्रमा माक्र्सले विकास गरेको संसारलाई बुझ्ने मात्र होइन बदल्ने भन्ने मान्यतालाई थप विकास गर्नेतिर लाग्ने विप्लव माओवादीले बताएको छ ।
‘हामी अब संसारलाई बुझेर बदल्नेतिर मात्र लाग्दैनौ, दर्शनको रक्षा र विकासतिर पनि पाइला चालेका छौं ।’ पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शन भन्छन्- ‘माक्र्सले आफ्नो जमानामा संसारलाई बदल्ने विचार प्रतिपादन गरे, हामी रक्षा र विकासतिर लागेका छौं।’
विप्लव माओवादीले आसन्न महाधिवेशनबाट दर्शनका अरु कयौं शाखाहरुमा समेत बहस गरेर नयाँ निचोड निकाल्नेतिर लागेको छ ।
विपरितहरुको एकत्व र संघर्ष भन्ने माक्र्सवादी दर्शनमा थप विकास र परिमार्जन गर्दै विप्लव माओवादीले यो नियम अबको माओवादी आन्दोलनमा लागू नगर्ने भएको छ ।
यस्तो नियम लागू हुँदा बाबुराम भट्टराईजस्ता माक्र्सवादीविरोधी कसरी पार्टीमा छिरेर कम्युनिस्ट आन्दोलनलाई धरासाही पार्दारहेछन् भन्ने कुरा ठूलो सवक भएको नेता वलीको भनाई रहेको छ ।
माक्र्सले विपरितहरुको एकत्व र संघर्षको नियम बनाउँदा पछिल्ला दिनमा रुसमा खुश्चेभहुँदै गोर्वाचोभ पैदा हुनु, चीनमा ल्यु शाओ चिदेखि तेङ स्याआे पिङहरु जन्मनु त्यसैको कारण हो भन्ने विप्लव माओवादीको बुझाइरहेको छ ।
यी शिक्षाबाट पाठ सिकेर विप्लव माओवादीले माक्र्सका अरु सबै नियमलाई बदलेर मात्राको गुणमा परिवर्तनलाई मात्र आत्मसात गर्नुपर्ने बताएको छ ।
‘विपरितहरुको एकत्व र संघर्ष र निषेषको निषेध भन्ने द्धन्द्धवादको नियमहरु स्वतः मात्राको गुणमा रुपान्तरणभित्र आइहाल्छन्, अरु नियम जरुरी देखिदैन ।’ माओवादी आन्दोलनमा दर्शनमा मोहन वैद्यपछि परिपक्व दार्शनिक ज्ञाताका रुपमा परिचित हेमन्तप्रकाश वली सुदर्शन भन्छन्- ‘विजातीय तत्वहरुलाई कम्युनस्ट आन्दोलनमा रोक्न र निषेध गर्न द्धन्द्धवादको नयाँ परिभाषामा हामी पुग्दैछौ ।’
विप्लव माओवादीले दर्शनको क्षेत्रमा गर्न गइरहेको नयाँ बहसले नेपालको माओवादी र कम्युनिस्ट आन्दोलनमा नयाँ तरंग ल्याएको छ ।







