महोत्तरी । भारतले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा दसजगामै पक्की सडक र नाला निर्माण गरेपछि यतिबेला काठमाडौंमा प्रधानमन्त्री प्रचण्ड अप्ठेरोमा परेका छन् । भारतले निर्माण गरेको संरचना हटाउन प्रधानमन्त्री प्रचण्डको जोर चल्छ या चल्दैन भन्ने बारेमा गम्भिर बहस सूत्रपात भएको हो ।
सरकार गठनकै बेलादेखि नै भारतपरस्त भनेर आरोप लाग्दै आएका प्रधानमन्त्री प्रचण्डले महोत्तरीमा भारतले अतिक्रमण गरेको दशजगा क्षेत्रमा निर्माण गरिएको स्थायी संरचना हटाउन नसके प्रधानमन्त्री प्रचण्डमाथि थप भारत परस्त भएको भन्दै चर्को गालीगलौजमा बृद्धि हुने निश्चित छ ।
जिल्ला प्रशासन कार्यालय, महोत्तरीका अनुसार भारतीय पक्षले मटिहानी गाविस–८ स्थित दसगजा क्षेत्रमा ७ दशमलव ३१ मिटर दसगजा मिचेर पक्की सडक र नाला निर्माण गरेको हो । सीमाक्षेत्रको दसगजाभन्दा दुवैतिर ३० मिटरसम्म कुनै पनि प्रकारको भौतिक संरचना निर्माण नगर्ने अन्तर्रा्ष्ट्रिय मान्यता र सम्झौता रहे पनि भारतीय पक्षले मटिहानी र मधवापुरको बीचमा दसगजा मिचेर पक्की संरचना निर्माण गरेको प्रमुख जिल्ला अधिकारी वीरेन्लद्र यादवले बताए ।
भारतीय पक्षले दसगजा मिचेर भौतिक संरचना निर्माण गर्न लागेको सम्बन्धी गत पुस २३ गते नै जानकारी पाएपछि सशस्त्र बेस क्याम्प मटिहानीले सो संरचनाको विरोध गरी काममा अवरोध खडा गर्दै रोक लगाएको थियो । तर पुनः भारतले सबै मान्यता र सम्झौतालाई लत्याउँदै तीन साता नबित्दै दसगजामा सडक र नाला निर्माण गरेको सशस्त्र प्रहरी उपरीक्षक, प्रकाश श्रेष्ठले बताए ।
भारतले यसरी दसगजामा बनाएको पक्की सडक र नालाको महोत्तरीका प्रजिअ यादवसहितको सुरक्षा निकायले स्थलगत निरीक्षण गरेको छन् । यसबारे उनीहरुले भारततर्फका मधुवनी जिल्लाका डिएम र सशस्त्रका कमाण्डरसँग समन्वय गरी निर्माण गरिएको संरचना भत्काएर मिचिएको दसगजा क्षेत्रलाई खाली गराउन प्रयास भइरहेको बताएका छन् ।







