तत्कालीन राजा ज्ञानेन्द्रले माघ १९ को कदम चाल्नुअघि यसको जानकारी अरू तीनजनालाई मात्र थियो । मौका यही हो, ठोक्नुपर्छ भनेर सल्लाह दिने तीन हस्ती थिए- शरदचन्द्र शाह, रमेशनाथ पाण्डे र पशुपतिभक्त महर्जन ।

शाह, पाण्डे र महर्जनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल भएको भन्दै राजालाई सत्ता हत्याउन उक्साएका थिए ।

पञ्चायतकालमा सूर्यबहादुर थापाबाटै ‘भूमिगत गिरोह’को उपाधि पाएका शरदचन्द्र शाह बहुदलको १५ वर्षपछि २०६१ मा ज्ञानेन्द्रले सत्ता हातमा लिँदा राजाका सक्रिय सल्लाहकार थिए ।

माघ १९ को कदमको विषयमा राजा ज्ञानेन्द्रबाहेक शाह, पाण्डे र महर्जनबीच मात्र छलफल भएको थियो । त्यतिखेर पाण्डेले अन्तर्राष्ट्रिय समर्थन मिलाउने जिम्मा लिएका थिए ।

राजाका दोस्रो सल्लाहकार शरदचन्द्र शाहले राजाले सत्ता हातमा लिएपछि आन्तरिक राजनीति मिलाउने जिम्मा लिएका थिए।  स्रोतका अनुसार शाहले एमाले नेता वामदेव गौतम र केपी ओलीलाई मात्र होइन, सुजाता कोइरालामार्फत गिरिजाप्रसाद कोइरालासँग सम्पर्क गरिसकेको दाबी गर्दै राजालाई अघि बढ्न सुझाब दिएका थिए ।

अर्का सल्लाहकार पशुपतिभक्त महर्जन पूर्वराजाका मुख्यसचिव पनि थिए । उनले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति राजाको पक्षमा भएको भन्दै शक्ति हत्याउन सुझाब दिएका थिए ।

ज्ञानेन्द्रले शक्ति हातमा लिँदा नेपालमा अमेरिकी राजदूत थिए- जेम्स एफ मोरियार्टी । महर्जनले मोरियार्टीसँग समेत कुरा मिलाउनेमा तत्कालीन राजालाई विश्वस्त बनाएका थिए ।

मोरियार्टीले त्यतिवेला भाषणमा भनेका थिए, ‘घर जलिरहेको छ तर पार्टीहरू मास्टरबेडमा को बस्ने भन्ने होडबाजी गरिरहेका छन् ।’

मोरियार्टी र उनको अमेरिका नेपालका राजनीतिक दलसँग दिक्क भइसके, यही वेला हो ठोक्ने भन्दै सल्लाहकारले ज्ञानेन्द्रलाई शक्ति हत्याउन सुझाब दिएका थिए । हुन पनि राजाले माघ १९ को कदम चालेकै दिन दिउँसो १२ बजे केही विदेशी राजदूतहरू बेलायती राजदूतको निवासमा बैठक बसे तर उनीहरूले माघ १९ को कदमलाई न समर्थन गरे, न खुलेर विरोध नै।

तत्कालीन राजाले कदम चालेपछि शरदचन्द्र शाह ‘लाइन मिलाउन’ भारत गएका थिए । स्रोतका अनुसार उनले भाजपा नेता लालकृष्ण आडवाणीसँग पनि भेट गरे । ‘तर, शाह आफैंले रक्सी खाएर आडवाणीसँग भेट गरेकाले राजाको कदमबारे राम्ररी डिल गर्न नसकेको रिपोर्ट तत्कालै राजासँग आयो ।

शरदचन्द्र शाहकै सिफारिसमा बेंग्लोरबाट डा. तुलसी गिरीलाई झिकाएर उपाध्यक्ष बनाइएको थियाे । माघ १९ को कदम चाल्नुभन्दा केही महिनाअघि गिरीलाई सुटुक्क बोलाई राजासँग भेट गराइएको थियो, भेटको कार्यक्रम पनि शाहले नै मिलाएका थिए ।

राजाका मन्त्रीहरूमा टंक ढकाल, भरतबहादुर जिसीलगायतका आधाभन्दा बढी मन्त्रीहरू शाहकै सिफारिसमा नियुक्त भएका थिए ।

केशरजंग रायमाझीले रत्यतिखेर राजनीतिक दलहरू र माओवादीसँग वार्ता गर्न सल्लाह दिएको थिए रे ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार