काठमाडौं/प्रधानमन्त्री पुष्पकमल दाहाल संकटमा परिरहेका बेला मुख्य सत्तासाझेदार दल नेपाली कांग्रेसका प्रभावशाली नेताहरु सरकारको विकल्प खोज्न थालेका छन् । प्रचण्ड नेतृत्वको सरकार ढाल्न र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न कांग्रेसका प्रभावशाली नेताहरु गोप्य छलफलमा जुटेका हुन् ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला र मिनेन्द्र रिजालले प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग नयाँ सरकारका विषयमा छलफल थालेको स्रोतले बताएको छ । कांग्रेसका तीन नेता र एमालेका उपाध्यक्ष वामदेव गौतम, उपमहासचिव बिष्णु पौडेलबीच गोप्य संवाद गरिसकेका छन् । शंखमुलमा कांग्रेस र एमालेका नेताबीच झण्डै दुई घण्टा लामो संवाद भएको बताइन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन घोषणा नगरी लामो समय सरकारमा बस्न खोजेको भन्दै कांग्रेस नेताहरुले विकल्प खोज्न थालेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एमालेसहित सरकार बनाउने र त्यही सरकारले निर्वाचन गराउने प्रस्ताव कांग्रेस नेताहरुले राखेका थिए ।
तर गौतम भने आफु प्रधानमन्त्री बन्ने दाउमा छन् । कांग्रेसले प्रधानमन्त्री एमालेलाई दिएपछि मात्र नयाँ सरकार गठनका बिषयमा एमाले तयार हुने संकेत बैठकमा गरेका थिए ।
यो खबर बालुवाटार पुगेपछि प्रचण्ड थप तरंगित हुन पुगेको स्रोतको बताएको छ ।







