नेकपा (माओवादी)का महासचिव नेत्र विक्रम चन्द विप्लवले आफूहरुको क्रान्तिमा अन्ततः नेपाली सेना र प्रहरीले पनि साथ दिने बताएका छन् ।

जनगणतान्त्रिक सम्पर्क मञ्च समन्वयन समितिको काठमाडाैंमा दोस्रो राष्ट्रिय भेलाको उद्घाटन गर्दै विप्लवले देशको स्वाधिनता धरापमा परेको बेला देशभक्त र राष्ट्रवादीहरु मिलेर लड्नु पर्ने बताए ।
‘देश बचाउने र बनाउने बेला हामी सगैं भएर लड्ने छौ ।’ उनले भने-‘ नत्र देश नै नरहने स्थिति अाउने छ । त्यसकारण नेपालका सेना र प्रहरीले हामीलार्इ साथ दिने छन् ।’
महासचिव विप्लवले नेपालको नदीनाला, प्राकृतिक स्रोत साधनमा भारतले कब्जा गर्न नेपालका राजनीतिक दलालहरुलाई प्रयोग गरिरहेको भन्दै दलाल सत्ताको अन्त्य नभए सम्म राष्ट्रिय स्वाधीनता प्राप्त नहुने बताएका छन् ।
महासचिव विप्लवले पार्टी कार्यकर्ताहरुलाई जंगलतिर नसोच्न आग्रह गर्दे अब काठमाण्डौं र ७५ जिल्लाका शहरहरुमा जनताले लडार्इ गर्ने बताए।
जनतालाई क्रान्तिबाट अलग्याउन चाहने तत्वहरुले माओवादीलाई जंगल जान्छ भनेर भ्रम फैलाएको महासचिव विप्लवको भनाई थियो ।
महासचिव विप्लवले जनता, राष्ट्रिय उद्योगी-व्यवसायी, देशभक्त र प्रगतिशल शक्तिको नेतृत्व गर्दै पार्टी नेतृत्वमा जनताले दलाल सत्ताका विरूद्ध राष्ट्रिय स्वाधिनताको युद्ध लड्ने बताए ।
भारतले नेपालको हातखुट्टा बाधेर घेरा हाल्दै आएको भन्दै अंगीकृत नागरिकता दिलाउन दबाव दिनुको कारण पनि नेपालको सत्तामा आफ्नो प्रभाव जमाउने उदेश्य रहेको विप्लवले बताए ।







