मधेसकेन्द्रित दलहरु र तिनका केही नेताहरुको शंकास्पद गतिविधिका कारण मात्रै होइन अन्य ठूला पार्टीका केही जिम्मेवार नेताहरुबाट मधेसबारे आइरहेका सतही टिप्पणीका कारण समग्रमा मुलुकको राजनैतिक निकाश निस्कन नसकिरहेको बताउँदै आइरहेका मधेसमा मामिलाका एक जानकार मानिन्छन् ।

प्रस्तुत छ, अहिले नेपाली राजनीतिमा चर्चित सिके राउत पक्राउ प्रकरण, मधेस वा नेपालबारे भारतीय चासो र नेपाल–भारत सम्बन्ध लगायतका विविध विषयमा मधेशविज्ञ  देवेश झासँग एशियन समाचारका लागि  नरेश न्यौपानेले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश: 

यतिबेला चर्चामा रहेको सिके राउत पक्राउ प्रकरणलाई कसरी बुझ्ने ?

यहाँ सिके राउतको पक्राउ भन्दा पहिला उनको उदय कसरी भयो बुझ्न जरुरी छ । उनी एकदमै अनौठा मानिस हुन् । उनको उदय नै सात दलले रत्नपार्कमा आयोजना गरेको जनआन्दोलनका बेला भएको जनसभाबाट भयो । त्यहाँ उनलाई कसले र किन बोलायो त्यो अहिलेसम्म बाहिर आएको छैन् ।

दोश्रो, डा. बाबुराम भट्टराई संविधान सुझाव समितिको सभापति हुँदा सुझाव संकलनका क्रममा उनले सिके राउतलाई आमन्त्रण गरे र उनले त्यहाँ संविधानमा देश टुक्राउन पाउनुपर्ने अधिकार राखेर संविधानमा छुट्टै धारा राख्नुपर्ने सुझाव दिएका थिए । त्यहाँ पनि उनलाई बाबुरामले किन बोलाए र बोलाउनै पर्ने उनको हैसियत के थियो त्यो पनि बाहिर आएको छैन् ।

सिके राउतलाई आवश्यकता भन्दा बढी महत्व दिएर हिरो बनाउन खोजिएको छ । बेला–बेला पक्राउ गरिन्छ र छोडिन्छ किन ? के साँच्चीकै राज्य विप्लवको मुद्दा लागेको व्यक्तिलाई यस्तो गर्न मिल्छ ? उनले उठाएका मुद्दाको राजनैतिक जवाफ दिनुपर्नेमा सरकारको मिस ह्यान्डलिङका कारण जबरजस्त उनलाई नै समस्याका रुपमा लिइँदैछ र यसमा नेपालका केही सतही रुपमा टिप्पणी गर्ने नेताहरुको भूमिकाले पनि काम गरेको देख्छु । उनका विवादास्पद अभिव्यक्तिहरुको कानूनी उपचार गर्नुपर्ने देखिन्छ ।

त्यसो भए उनलाई जबरजस्त हिरो बनाउने काम सरकारले गरिरहेको हो त ?

हो, यसमा सरकार चुकेकै हो । किनकी जुन दिन उनले राज्य टुक्राउन अभिव्यक्ति दिए त्यहि दिन उनको कानून बमोजिम गिरफ्तारी किन गरिएन ? कानून भंग गरेको भए कानूनी रुपमा कार्बाही गर्नुपर्ने होइन र ? फेरि कानून भंग गरेको थिएन भने हिरासतमा किन लिइयो ?

मधेसबारे आजको समस्या जटिल बन्दै जानुमा मधेसवादी नेताहरुकै भूमिकाले काम गरिरहेको भनिन्छ, यहाँलाई के लाग्छ ?

सत्य कुरा यहि हो, मधेसकेन्द्रित दलका नेताहरुको ढुलमुले चरित्रले मधेसलाई मात्रै होइन देशलाई नै अप्ठ्यारोमा पारिरहेको छ । अर्को मुख्य समस्या मधेशलाई भारतसँग जोडेर हेर्ने दृष्टिकोण पनि हो । नेपालको पहाडी समुदाय कोही पृथ्वीनारायण शाहको एकीकरणको अभियानमा आफ्ना पुर्वजको योगदान थियो भनेर आफुलाई विर सम्झीन्छन् भने कोही व्रिटिश लाहुरेको सन्तति भनेर आफुलाई वीर गोर्खाली सम्झािन्छन् र त्यही बमोजिम मधेसीलाई व्यवहार गर्दछन् ।

केही दिन अघिमात्र एक जना एमाले नेताले मधेसका केही समुहले सिमा पारी नेपाल विरुद्ध परेड खेलिरहेको बताएका थिए, यसमा सत्यता छ वा सतही टिप्पणी हो ?

हेर्नुहोस, यो एमाले जस्तो पार्टीका जिम्मेवार नेताले गरेको सतही टिप्पणी हो । किनभने हामीले त्यो परेड खेलिएको भनिएको गान्धी मैदानमै पुगेर अनुसन्धान गरेका छौं । तर, जनतालाई एकपटक रक्षामन्त्री भइसकेका व्यक्तिसँग सही सूचना होला र भने होलान भन्ने लागेको हुनसक्छ तर रक्षामन्त्रीसँग नेपाली सेनासँग जति सूचना हुन्छ त्यति सूचना हुँदैन् । त्यसमा सत्यता भएको भए त सेनाले वक्तव्य निकाली हाल्थ्यो नि ! केही नेताहरुका सतही टिप्पणीहरुले पनि समस्या बढाइरहेको छ । अर्को यस्ता टिप्पणी गर्न मधेसी नेताहरु स्वंयमले शंकास्पद गतिविधि पनि गरिरहेका छन् ।

यद्येपी तराइका केही समुहका गतिविधि अवश्य शंस्कास्पद देखिन्छन् पनि । जहाँसम्म त्यो परेड खेलिएको भन्ने सन्दर्भमा चाहीं यो हुँदै नभएको कुरा हो, जबकि त्यो गान्धी मैदानमा जतिबेला पनि १० हजार मानिस भइरहन्छन् । त्यस्तो खुल्ला ठाउँमा नेपाल टुक्राउने योजनाबारे बहस हुने र परेड खेलिने कुरा हुनै सक्दैन । देश नै विखण्डन गर्ने कुरा कसैले त्यस्तो खुल्ला ठाउँमा बसेर गर्ला ? सेनालाई जानकारी नभएको कुरामा कुनै नेताको सतही टिप्पणीको अर्थ रहन्न ।

तपाईंले संकेत गरे जसरी मधेसवादी दललाई हेर्ने दृष्टिकोण बन्नुका पछाडि उनीहरुको कस्तो चरित्रले काम गरेको देखिन्छ ? उनीहरुको लाभ र भुक्तानीको राजनीतिका केही श्रृंखला बताउन मिल्छ ?

अवश्य, पहिलो–नाकाबन्दीको बेला तराइका जिल्ला सदरमुकामहरुमा जनताको व्यापक सहभागीतामा चलिरहेको आन्दोलनलाई उनीहरुले पुलीसले गोली चलाउने भयो त्यसैले नाकामा आउनुपर्यो भनेर आन्दोलन नै टुङ्ग्याए । जबकि परिवर्तनका लागी साँच्चीकै आन्दोलन गर्नेहरु मर्न तयार हुन्छन् तर भाग्दैनन् त्यो विश्वका जुनसुकै लडाईंको इतिहास हो । यो कसको निर्देशनमा उनीहरुले गरे, अन्यौल छ ।

अर्को सुशील कोइरालाको सरकारका पालामा मधेसमा ४० जना भन्दा बढीले शहादत प्राप्त गरेका थिए तर मधेसी नेता फेरि कोइरालालाई प्रधानमन्त्री पदमा भोट हाल्न राजिनामा दिएको घोषणा गरेकाहरु समेत संसदमा आए । संसदबाट राजिनामा दिएको भन्ने सद्भावना पार्टी आफैं कोइरालालाई भोट हाल्न संसद छिर्यो । यसरी बोल्ने एउटा र गर्ने अर्के भएका कारण उनीहरुको राजनीति विशुद्ध लाभ कता छ त्यता बढी केन्द्रित देखिन्छ । उनीहरु आन्दोलनबाट फिर्ता कस्को दबाबमा आए ? त्यो अदृश्य शक्ति को थियो ? अरु शक्ती त यहाँ छैनन् भारत नै त होला नि !

एमालेले उठाइरहेको राष्ट्रवादको सवाललाई कसरी व्याख्या गर्नुहुन्छ ?

एमाले मात्रै होइन आम नेपाली जनता राष्ट्रवादी हुन् । त्यो इतिहासले पनि पुष्टि गरिसकेको विषय हो । तर, कुरा के हो भने राजतन्त्र रहेसम्म राष्ट्रवादको नेतृत्व राजाले गरेका थिए भने त्यसपछि खाली भएको त्यसको नेतृत्व एमालेले लिएको मात्र हो । राष्ट्रवादको सिद्धान्त नै के हो भने यो कसै न कसैका विरुद्धमा लक्षित हुन्छ । जस्तो रसियाको पतनपछि अमेरिकाले इस्लामिकहरुलाई आफ्नो राष्ट्रवादका दुश्मन जस्तो बनायो । त्यस्तै, भारतले पाकिस्तानलाई आफ्नो राष्ट्रवादको दुश्मन देखाउँछ ।

तुलनात्मक रुपमा पहिले भन्दा अहिले नेपाल–भारतबीचको सम्बन्ध कस्तो देखिन्छ ?

नेपाल र भारतबीचको सम्बन्ध जे थियो त्यो कायम छ । पहिलेको तुलनामा भारतमा पढ्न जाने विद्यार्थी संख्या बढिरहेको छ । उपचार गर्न जाने बिरामी संख्या बढिरहेको छ । रोजगारीका लागी जानेहरुमा बृद्धि भइरहेको छ । जनस्तरको सम्बन्ध एकदमै राम्रो छ र जुन झन् राम्ररी विस्तार पनि भइरहेको छ ।

तर राजनैतिक स्तरमा भने एक खालको ड्रामा चलिरहेको छ । नेपालका नेताहरुको सतही दृष्टीकोण, बिहान एउटा साँझ अर्को बोलीदिने मुर्खताका कारण भारतको मात्रै होइन चीनको समेत चाँसो बढिरहेको छ । नेपालमा भइरहेका विभिन्न गतिविधिका कारण दुवै मित्रराष्ट्र शंसकीत भइरहेको म देख्छु । नेपालका पछिल्ला गतिविधिहरुमा चीन पनि सकारात्मक छैन भन्ने कुरा ५ महिनाको नाकाबन्दीमा उसले एक शब्द पनि नबोलेको कुराबाट पुष्टी हुन्छ ।

अन्तमा, नेपालका लागी विद्रोही शक्तीका रुपमा देखापरेका विप्लव वा सिके राउत कुनबाट बढि खतरा देखिन्छ ?
यी  दुवैबाट खतरा छैन । यिनीहरु खतरनाक बन्न सक्दैनन् । सिके राउत त जबरर्जस्त शंका गरेर हिरो मात्र बनाइएका हुन् । जहाँ सम्म विप्लवको कुरा छ उनी खतनाक बन्न उनलाई कुनै बाह्य ठुलो शक्तिले सहयोग गर्यो भने मात्रै, नत्र उनीबाट पनि म खतरा देख्दिन् ।

एशियन समाचारबाट ।

Save

Save

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार