पुष्पकमल दाहालपछि प्रधानमन्त्री पदका दाबेदार रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख दलहरुसँग आफ्नो भेटघाट तीव्र बनाएका छन्।

मधेसी मोर्चाका नेताहरुलाई आइतबार आफ्नै निवास बुढानिलकण्ठमा भेटेर देउवाले संविधान कार्यान्वयनका लागि संशोधन प्रस्ताव पारित गरेर मात्र निर्वाचनमा जाने आफ्नो दलको रणनीति रहेको भन्दै त्यसमा सघाउन मधेसी नेताहरुलाई आग्रह गरेका थिए।

उनले आइतबार बिहानमात्रै प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन वार्ता गरेका थिए। लगत्तै देउवा बालुवाटार पुगी प्रधानमन्त्री दाहालसँग परामर्श गरेका थिए।

मोर्चाका नेताहरूसँगको भेटमा देउवाले व्यक्त गरेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मोर्चासँग भएको तीनबुँदे सहमतिको हस्ताक्षरकर्ता म पनि भएकाले त्यसको कार्यान्वयन मेरो प्रतिबद्धता हो। चाँडोभन्दा चाँडो संशोधन पारित गरी निर्वाचनमा जानुपर्छ।’

प्रमुख प्रतिपक्षी एमालेले संशोधन विधेयकको विरोध गरिरहेका बेला कांग्रेस सभापति देउवाले विधेयकलाई छिटोभन्दा छिटो पारित गराउन आआफ्ना तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए। उनले मधेसी मोर्चाको मागप्रति आफू इमानदार रहेको बताए।

‘मधेसी मोर्चाको माग पूरा गर्नुपर्छ। पहिला संविधान संशोधन विधेयक पारित गरी चुनावमा जानुपर्छ। यसमा मोर्चाले पनि साथ दिनुपर्छ’, देउवाले भनेका थिए।

अन्नपूर्णबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार