सन् २०५० सम्ममा अमेरिकी अर्थतन्त्र भारतभन्दा पछाडि पर्ने अनुमान एक अन्तर्राष्ट्रिय आर्थिक संस्थाले गरेको छ।

लण्डनमा मुख्यालय रहेको आर्थिक परामर्श तथा सेवा प्रदायक संस्था ‘प्राइस वाटर हाउस कोअपर्स (पिडब्लुसी) ले जनाएअनुसार आउँदो तीस वर्षमा चीन र भारतजस्ता एसियाली मुलुक विश्व अर्थतन्त्रमा हावी हुनेछन्।

पिडब्लुसीले सार्वजनिक गरेको ‘द लङ भ्युः हाउ विल द ग्लोबल इकोनोमिक अर्डर चेन्ज बाइ २०५०?’ शीर्षकको प्रतिवेदनले क्रय शक्ति समरुपता (पिपिपी) का आधारमा कुल गार्हस्थ उत्पादन (जिडिपी) को मात्रा अनुमान गरी ३२ देशहरुलाई श्रेणीबद्ध गरेको छ।

पिडब्लुसीका अनुसार २०५० सम्ममा चीनको जिडिपी ५८.५ ट्रिलियन डलर पुग्नेछ। त्यसैगरी भारतको ४४ ट्रिलियन र अमेरिकाको ३४.१ ट्रिलियन डलर पुग्नेछ।

त्यसैगरी जर्मनी, बेलायत र इटालीलाई पछि पार्दै रुस युरोपको ठूलो अर्थतन्त्र बन्नेछ। रुसको जिडिपी ७ ट्रिलियन पुग्नेछ।

ठूला अर्थतन्त्र भएका सात राष्ट्र (जि ७) को तुलनामा उदयीमान बजार भएका सात देश (इ ७) तीन दशकपछि विश्वको अर्थतन्त्रमा हावी हुने पिडब्लुसीले जनाएको हो।

पिडब्लुसीका अनुसार इ ७ (चीन, ब्राजिल, भारत, इण्डोनेसिया, मेक्सिको, रुस र टर्की) को ३४ वर्षमा वार्षिक औसत वृद्धिदर ३.५ प्रतिशत रहनेछ भने जि ७ (अमेरिका, जापान, बेलायत, जर्मनी, फ्रान्स, इटली र क्यानडा) को वृद्धिदर १.६ प्रतिशत मात्र।
त्यस्तै ४ देखि ५ प्रतिशतको बीचमा वृद्धिदर कायम गर्ने भियतनाम, फिलिपिन्स र नाइजेरियाले जिडिपीको श्रेणीमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ।

सन् २०५० मा विश्वका दश ठूला अर्थतन्त्रमा क्रमशः चीन, भारत, अमेरिका, इण्डोनेसिया, ब्राजिल, रुस, मेक्सिको, जापान, जर्मनी र बेलायत रहनेछन्।

त्यसैगरी हाल २७ सदस्य रहेको युरोपेली युनियनको जिडिपीभन्दा भारतको जिडिपी ठूलो हुनेछ।

चीन र भारतको अर्थतन्त्र बढ्दै गर्दा अमेरिका र युरोपेली युनियनको अर्थतन्त्रमा गिरावट आउनेछ। पिडब्लुसीले बजार विनिमय दरका आधारमा सन् २०५० को जिडिपी अनुमान गरेको जनाएको छ। सो अनुमानका आधारमा अमेरिकाले २०३० पछि विश्वव्यापी प्रभूत्व गुमाउनेछ।

उदयीमान अर्थतन्त्रले यो दरको वृद्धिलाई आत्मसात गर्नका लागि संरचनागत सुधार गर्नुपर्ने पनि पिडब्लुसीले जनाएको छ ।

नेपाल खबरबाट ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार