पछिल्लो दुई दशकदेखि राजनैतिक भर्तीकेन्द्र र फितलो व्यवस्थापनको चपेटामा परेको जनक शिक्षा सामग्री केन्द्रको ऋण अहिले १ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।

५ वर्ष अघिसम्म १ अर्ब भन्दा कम रहेको ऋण परिमाण उल्लेख्य बढेको छ । सरकारी कागजात र विद्यालयका पुस्तक छापेर मुनाफा आर्जन गर्ने उद्देश्यका साथ छ दशकअघि स्थापना गरिएको जनक शिक्षा तिर्नै नसक्ने ऋणमा डुबेको अधिकारीहरू बताउँछन् ।
केन्द्रले हाल राष्ट्रिय बाणिज्य बैंक, बैंक अफ काठमान्डू लुम्बिनी, नागरिक लगानी कोष र सरकारको ऋण तिर्न नसक्ने भएपनि ब्याज तिरिरहेको छ । यसमध्ये पनि केन्द्रलाई सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकको ५५ करोड रुपैयाको ऋणभार छ ।
यसरी नै नागरिक लगानी कोषको २९ करोड र बैंक अफ काठमान्डू लुम्बिनीको ९ करोड रुपैया रहेको छ । यसबाहेक अन्य ऋण भने सरकारलाई तिर्न बाँकी छ । केन्द्रका आर्थिक प्रशासन प्रमुख सुजनराज नेपालले पुस्तकको मूल्य प्रचलित बजार भाउअनुसार समायोजन गर्न नसक्दा बर्सेनि घाटामा गइरहेको बताए ।
हाल पुस्तक छाप्ने पैसाको समेत अभाव झेलिरेहको केन्द्रसँग तत्काल सरकारबाहेक २ बैंक र कोषकोे ऋण तिर्न सक्ने अवस्था छैन । केन्द्रले क्षमता विस्तार र पुस्तक छाप्नकै लागि सरकारसँग बर्सेनि आर्थिक सहयोग माग्दै आइरहेको छ ।
पुस्तक छपाई गर्ने क्रममा दैनिक खर्चका लागि आवश्यक पर्ने रकम व्यवस्थापनका लागि केन्द्रले यो बर्षमात्र सरकारसँग ४० करोडको ‘रिभल्बिङ फन्ड’ स्थापना गर्न माग गरेको थियो । तर सरकारले तत्कालका लागि १० करोड रुपैयाँमात्र दिने निर्णय गरेको छ ।
ऋणमा चलिरहेको केन्द्रलाई जसोतसो संचालन गर्न हालै मन्त्रिपरिषदले साझा प्रकाशनलाई अनुदान र ऋणका रुपमा दिएको २० करोड रुपैयाँमध्ये १० करोड सिधै केन्द्रलाई दिने निर्णय गरिसकेको छ ।
बाह्र वर्षदेखि पाठ्यपुस्तकको मूल्य समायोजन नगरेको सरकारले यो वर्ष थोरैमात्र मूल्य बढाएको केन्द्रले जनाएको छ । केन्द्र विगत १० वर्षदेखि वार्षिक करिब ११ करोड रुपैयाँका दरले घाटामा गइरेहको छ ।
किताब बिक्रीबाट आउनुपर्ने पैसा समेत बक्यौता रहको कारण केन्द्रलाई थप आर्थिक भार परेको छ । केन्द्रले हाल कक्षा ९ र १० को किताब छपाइमा प्रतिपेज क्रमशः २६ र ३७ पैसा पाउँदै आएको छ ।
यो बर्तमान बजार मूल्यअनुसार सम्पूर्ण खर्च खर्च कटाएर नाफा कमाउन मुस्किल रहने मूल्य रहको केन्द्रको भनाइ छ ।
केन्द्रको ऋण (रु. हजारमा)
राष्ट्रिय बाणिज्य बैंक ५५००००
नागरिक लगानी कोष २९००००
सरकार ७९००००
बैक अफ काठमान्डू लुम्बिनी ९००००
जम्मा १७२००००
स्रोत ः जनक शिक्षा सामग्री केन्द्र ।







