संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाभित्र यतिवेला दुई धार देखा परेको छ। सदनमा संविधान संशोधन प्रस्तावमाथि छलफल सुरु भएको छ।

उक्त प्रस्तावलाई यथास्थितिमा पारित गर्दापनि कुनै आपत्ति नहुने, तर यही प्रस्तावमाथि संशोधन हालेर जानुपर्ने पक्षमा शीर्ष नेताद्धय महन्थ ठाकुर र राजेन्द्र महतो उभिएका छन्। तर मोर्चा सम्मिलित संघीय गठबन्धनका संयोजक उपेन्द्र यादव भने प्रस्ताव परिमार्जनसहित पारित नभए कुनैपनि चुनावमा भाग नलिने अडानमा छन्।
संयोजक यादव बरु नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईसँग एकता गरेर अघि बढ्ने पक्षमा छन्। तर संशोधन प्रस्ताव यथास्थितिमा कुनैपनि हालतमा नमान्ने अडानमा छन्। उनले बाबुरामसँग एकता गरेर आन्दोलन नै चर्काउने तयारी समेत गरेका छन्। यादव प्रधानमन्त्री दाहालसँग पनि आक्रोशित बनेका छन्।
सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेलगत्तै मोर्चा असन्तुष्ट बनेको छ। संशोधन प्रस्तावमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने कुनै अवरोध गरेको छैन। उसले मौन समर्थन जनाएको छ। तर प्रस्ताव भने कुनैपनि हालतमा पारित गर्न नदिने सार्वजनिक चूनौति नै दिएको छ।
खासगरी मोर्चाका नेताहरु संयोजक यादवसँग सशंकित हुनुको प्रमुख कारण भनेको नै बाबुरामसँग मिल्नुको रहस्य नबुझ्नु रहेको एक नेताले बताए ।







