नेपाल कम्युनिष्ट पार्टीका नेता सन्तोष बुढा मगरले जनता परिवर्तनको पक्षमा रहेको बताएका छन् । रिपोर्टर्स क्लव रोल्पाले अाइतबार लिबाङमा गरेको साक्षात्कार कार्यक्रममा बुढाले यस्तो बताएका हुन् ।
तत्कालिन नेकपा माओवादीको ८औं महाधिवेशनबाट पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखेपछि पार्टीको नयाँ कार्ययोजनाबारे लिबाङमा अायाेजित कार्यक्रममा नेता बुढाले जनता आफूहरुको पक्षमा रहेको दावी गरे ।
नेपालमा दलाल पुँजीवादको शासन चलिरहेको भन्दै पार्टीको महाधिवेशनले उक्त शासनको अन्त्य गर्न वैज्ञानिक समाजवाद स्थापना गर्ने नयाँ कार्यदिशा तय गरेको बुढाले बताए।
जनता सधै परिवर्तनको पक्ष हुने भन्दै उनले दलाल पुँजीवादको अन्त्य गर्न जनताले साथ दिइरहेको दावी गरे ।

‘तपाईहरुले लिएको दलाल शासन अन्त्य गर्ने योजनामा जनताले साथ देलान त ?’ भन्ने पत्रकाहरुको प्रश्नमा उनले जनता २००७ सालदेखि नै सधै परिवर्तनको पक्षमा रहेको बताए । ‘राणा शासन फाल्ने यिनै जनता, पञ्चायती शासन, राजा शासन फाल्ने यिनै जनता त हुन’ उनले भने- ‘अब दलाल शासन पनि छिटै नै फाल्ने छन् ।’
अर्काे प्रसङ्गमा थबाङ स्थायी घर भएका नेता बुढाले थबाङ आफैमा म्युजियम रहेको बताए ।
आफ्नो पार्टीका महासचिव विप्लवले अरु माओवादी नेता जस्तो राम्रो गाडी किन्ने नगरेको दावी गर्दै तत्कालिन नेकपा माओवादी रहेको बेला विप्लव चढ्ने गरेको पूरानो गाडी पनि अहिले थबाङमा छाडिएको जानकारी दिए ।
‘माओवादी र उक्त गाडी थबाङमै छोड्यौं’ उनले भने । साथै नेता बुढाले विगतदखि नै आफ्नो तत्कालीन पार्टीले गर्दै आएको भ्रष्टाचारीहरुलाई कालो मोसो दल्ने कार्य समेत नरोकिएको बताए ।
रिपोर्टर्स क्वलव रोल्पाका अध्यक्ष सन्तोष शर्माको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रमको सञ्चालन पत्रकार नवीन लोचन मगरले गरेका थिए।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो ।







