प्रचण्डसँगको दुईलाईन संघर्षदेखि आठौं महाधिवेशन यता जब्बर बनेर आएको एउटा चर्चित प्रश्न बनेको छ-  के विप्लव शान्ति चाहन्छन् ? अर्थात के विप्लवको संगठन शान्तिपूर्ण राजनीतिमा भाग लिन्छ ? मेरो विचारमा विप्लव र उनको संगठनका लागि शान्ति अति प्रिय वस्तु हो ।

तर उनीहरु क्रान्ति चाहन्छन् । शान्तिप्रति सुरक्षा साइरन घोडागाडी सहितको तामझाममा रमाएको सिंहदरवार जति चिन्तित छ, रातभर गोलाबारुदका गर्जनहरुसँग पौंठेजोरी खेलेको रोल्पा त्यो भन्दा सयौं गुणा प्रतिवद्ध छ ।

सुर न तालको शान्तिका असंगतिपूर्ण भजनहरुमा सत्तासिनहरु जसरी आफुलाई कौशल र जिम्मेवार ठान्दछन् त्यसको हजारौं गुणा विप्लव र उनका कार्यकर्ताहरु शान्तिप्रिय धुन निकाल्न कौशल र जिम्मेवार छन् । शान्तिका जतिसुकै रटान लगाएपनि सिंहदरवार लोभ, लालच र लालशाको इशारा बुझ्न अभ्यस्त छ ।

तर रोल्पाले लाशका चाङहरुको शान्तिप्रिय चित्कारसँग साक्षात्कार गरेको छ । यसर्थ सबैभन्दा बढी शान्तिका पुजारी विप्लवहरु नै हुन् । बरू विप्लवको संगठनले शान्ति चाहन्छ भन्ने सन्देहयुक्त प्रश्नहरुमा जिज्ञासा भन्दा कृत्रिम आशंका मिश्रित छ ।

पहिलो कुरा हतियारको व्यापार गर्दा कमिसन आउने लोभमा सत्तासिनहरु वास्तविक शान्तिप्रति इमान्दार र उत्तरदायी हुन सक्दैनन् र दोस्रो उनीहरु आफै मैदानमा लड्नु पर्दैन यसर्थ पनि वास्तविक शान्तिप्रति भित्रै देखि इमान्दार हुँदैनन् ।

विप्लवको संगठनले शान्ति चाहन्छ कि चाहदैन भन्ने प्रश्नलाई निकै महत्व र प्राथमिकता दिनुका पछाडि युद्धको वातावरण तयार गर्ने मनस्थिती छ ।युद्धकालमा जो सिंहदरवार छिरे उनीहरुले हतियार सम्वन्धी कार्यबाट मुनाफा लिए र धनाड्य भए तर उनीहरुले केही गुमाउनु परेन ।

रोल्पा र विद्रोही जो सत्ताका विरुद्ध लडे ती भोकै,प्यासै लडे, दौंतरीदेखि परिवार र आफन्तजनहरु गुमाए, घाइते र वेपत्ताहरुको पीडा देखे । वास्तवमा उनीहरु नै असली शान्तिका पुजारी बन्न सक्छन् ।

शान्तिका सवालमा विप्लव र उनको संगठनप्रति सन्देह प्रकट गर्नु सनातनी राजनीतिको परम्परागत साङ्लोले बाँधिएका अज्ञानीहरुको सतही जिज्ञासा हो । तर, शान्तिप्रिय हुनुको अर्थ लाशका चाङमाथि टेकेर आँशु बगाउँदै गोलाबारुदसँग पौंठेजोरी खेलेको विगतको विरासत र इतिहाससँग तर्सिएर दिशाविहीन राजनीतिका मुर्ख महाराजहरुसँग आत्मसमर्पण गर्नु होइन ।

त्यसपछि तेर्सिने गरेको अर्को प्रश्न हो- क्रान्ति शान्तिपूर्ण हुन्छ कि बल प्रयोगले ? मेरो विचारमा यो एक अपरिपक्व र बालसुलभ जिज्ञासा हो । क्रान्तिको आवश्यकतामा सवै साध्य र साधनहरु स्वभाविक हुन्छन् भनेपछि शान्तिपूर्ण कि बलप्रयोग भन्ने कोट्याउन जरुरी छैन । किनकि त्यो परिस्थितीले निर्धारण गर्छ भन्ने निश्चित छ ।

वास्तविक क्रान्ति कुनै पनि प्रकारको युद्धले दिशा दिन नसकेको अवस्थामा युद्धबाट थकित योद्धाहरुले नै सम्पन्न गर्ने आँट गर्छन् । सैन्य परिभाषामा एकपटक लडेको सिपाही अर्को चरणमा लड्न सक्दैन भनिन्छ । तर म यस कुरामा असहमत छु किनकि घाइते बाघ अगाडिको शिकार बमहेक अरु केही देख्दैन ।

अझ भनौ पहिलो विश्वयुद्धबाट थकित भएको रुसले नै क्रान्ति सम्पन्न गर्यो । अक्टोवर क्रान्तिपछि निर्माणको युद्ध सम्पन्न गर्यो र अन्ततः दोस्रो विश्वयुद्ध र त्यसपछिको पुनर्निमाणको युद्ध पनि पुरा गर्यो ।

यो इतिहासको सत्य र साक्षात् परिघटना हो ।

एशियन समाचारबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार