डोनाल्ड ट्रम्पले एक महिना अघि मात्रै अमेरिकाको राष्ट्रपतिको कुर्सी सम्हालेका थिए ।

तर अहिले विश्वस्तरमै लगाइएको एक अनुमान अनुसार डोनाल्ड ट्रम्पविरुद्ध चाँडै नै अमेरिकी सिनेटमा महाअभियोग प्रस्ताव (इम्पिचमेन्ट मोशन) आउनेछ । र, सोही महाअभियोगका कारण उनी इतिहासकै छोटो समयमा महाअभियोग झेल्दै बर्खास्तीमा पर्ने राष्ट्रपति हुनेछन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुर्सीबाट हटाउनका लागि एक महीनामै चलखेल सुरु भएको हो । कयालिफोर्नियाको रिचमन्ड सिटी काउन्सिले सर्वसम्मतिबाट अमेरिकी संसदसमक्ष राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियो प्रस्ताव लाउनका लागि जाँच थाल्न आग्रह गरेको छ ।
क्यालिफोर्नियाबाट सदस्य गेल म्याकलोघलिनले यस प्रस्तावलाई अघि बढाउँदै राष्ट्रपति ट्रम्पको विश्वभर रहेको व्यापारिक सञ्जालबारे उनले अमेरिकी सरकारलाई सुचना दिन इन्कार गरेको आरोप लगाएका छन् ।
संविधान र कानून अनुसार ट्रम्पविरुद्ध महाअभियोग लगाउने पर्याप्त कारण रहेको जनाउँदै उनले त्यसका लागि जाँच थाल्न संसदलाई अपिल गरेका हुन् ।
पूर्व राष्ट्रपति बराक ओबामाविरुद्ध महाअभियोगको चर्चा दोस्रो कार्यकाल र ६ वर्षमा सुरु भएको थियो । त्यसभन्दा अघि जर्ज बुसलाई पनि उनको कार्यकालको अन्तिम क्षणमा महाअभियोग लगाउने कोशिस भएको थियो ।
अमेरिकी संविधान अनुसार यदि चुनाव भएपछि राष्ट्रपतिले मानसिक क्षमता गुमाए, आफ्नो सरकारलाई कुनै हिंसा या दमनमा हालेमा तथा विदेशी शक्तिको विश्वासमा धक्का पुर्याएमा कुर्सीबाट हटाउनु अमेरिकाको हितमा हुने उल्लेख छ ।
अब अमेरिकी संविधानमा राष्ट्रपतिविरुद्ध महाअभियोगका लागि तोकिएका लगभग सबै शर्तमा डोनाल्ड ट्रम्पमाथि आरोप लगाउन सकिनेछ । यी आरोपमा कुनै एक मात्रै सही ठहर भएमा अमेरिकी संसदमा नयाँ राष्ट्रपतिविरुद्ध महाअभियोग सुरु हुनेछ ।
यी हुन् महाअभियोग लाग्ने कारण
१. डोनाल्ड ट्रम्पको व्यापारिक स्वार्थ
अमेरिकी संविधान र सरकार नीतिशास्त्रीका अनुसार नोभेम्बरमा डोनाल्ड ट्रम्पलाई चुनावपछि विश्वभर फैलिएको उनको व्यापारिक कारोबारलाई बेचेर राष्ट्रपतिको मर्यादा जोगाउने खालको क्षेत्रमा मात्रै कारोबार केन्द्रित गर्न सुझाव दिइएको थियो ।
अथवा त्यो कारोबार बेचेपछि आउने रकमबाट कुनै ब्लाइन्ड ट्रस्टमा हाल्न पनि भनिएको थियो । यहाँनिर बुझ्नुपर्ने कुरा भनेको राष्ट्रपति ट्रम्पका कयौँ व्यापारिक स्वार्थ रहेका छन् र उनी विश्वका कयौँ देशबाट नियमित आम्दानी पनि गरिरहेका छन् ।
यसमा विदेशी सरकारका साथ साथै अमेरिकी राज्यको सरकार र स्वयम् अमेरिकाको संघीय सरकार पनि सामेल रहेको छ । उनको आम्दनी अमेरिकी संविधानको ठीक विपरित रहेको छ ।
२. विवादमा ट्रम्प प्रशासन
ट्रम्पको एक महिनाको कार्यकालमा उनका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले राजीनामा दिइसकेका छन् । फ्लिनमाथि रुसका अमेरिकास्थित राजदूतलाई देशमा प्रतिबन्ध लगाउनका लागि ओबामा प्रशासनले गरेको कोशिसको बचाउ गरेका थिए ।
यस मामिलामा रुसले अमेरिकाको चुनावमा हस्तक्षेप गरेको कुरा पुष्टि भइसकेको छ । यसका अलावा ट्रम्पद्वारा सीआईए र सीनेट इन्टेलिजेन्स कमिटिका लागि चुनेका सिनेटर डेभिन नून्स र सिनेटर रिचर्ड बर्रको भूमिका पनि शंकास्पद पाइएपछि ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारको राजीनामा माग्नु पर्यो ।
३. विदेशी शक्तिसँगको विश्वासमा धक्का
डोनाल्ड ट्रम्पले अध्यागमनको मुद्दामा छिमेकी देशसमेत खाडीका मुस्लिम देश र एसियाली देशलाई निशानामा पारेका छन् । आफ्नो पहिलो महिनाको कार्यकालका क्रममा सात मुस्लिम देशलाई भिसा नदिने निर्णय गरिसकेका छन् ।
मेक्सिको जस्तो मित्र राष्ट्रसँग सिमानामा पर्खाल बनाउनका लागि पैसा मागेका कारण दबाब बढिरहेको छ । अर्कातिर एसियाली देशसँग आईटी र फार्मा क्षेत्रमा अमेरिकामा एच१बी भिसामा काम गरिरहेका आप्रवासीलाई देशबाट निकाल्ने कोशिश पनि ट्रम्पले गरिरहेका छन् ।
त्यहीकारण यी फैसलाले अमेरिकी सरकारको अन्तरराष्ट्रिय हितमा नोक्सानी हुने आशंका गरिएको छ । संविधान अनुसार यो पनि ट्रम्पलाई कुर्सीबाट निकाल्ने बलियो कारण बनेको छ ।







