माओवादीहरु जनयुद्धबाट शान्तिप्रक्रियामा आएपछि पत्रकार एवं साहित्यकार नवीन विभासले रोल्पाबारे एउटा कविता लेखेका थिए । ‘कमरेड’ शीर्षकमा उनले लेखेको कविताको छोटो अंश यस्तो छ :

रोल्पा थबाङका जनताहरु

रोल्पा भन्छ–
’काठमाडौंलाई रोल्पा बनाउन गएको तँ,
तँ आफैं काठमाडौं भइस्,
काठमाडौं पसेर जात फेरिस् ।’

रोल्पा भन्छ–
’एक कल फोन त के
मिसकलसमेत गर्दैनस्
गरेको फोन पनि उठाउँदैनस् ।’

कहिलीकसो यसो गम्छु–
’परिवारका सदस्य नातागोता र केही कमरेडका
न्यानो मायामा
तीन त्रिलोक र चौध भुवन देख्ने गरी ’मस्तराम’ भएपछि
रोल्पालाई सम्झनैपर्ने कुन आइतबार छ र ?’

रोल्पाको गुनासोले ’हुक्क’ छु म
पटकपटक सोध्छु–
’मूला रोल्पा !
तैले रेडियो नि कहिल्यै सुन्दैनस् कि क्या हो ?
टिभी नि हेर्दैनस् कि क्या हो ?’
पत्रिका नि पढ्दैनस् कि क्या हो ?’
मेरा ’दुई शव्द’मा
’रोल्पा’ उच्चारण गर्न कहाँ छाडेको छु र ?’

रोल्पा
तँ
जात्तिबित्ति ’सोझो जडसूत्रवादी’ भइस्
एकपालि यसो मलाई नियाल् त,
जनयुद्धमा न मेरो छोरो गुमेको छ न मेरी छोरी
न मेरो विपना लुटिएको छ न मेरो सपना
न मेरो घर भत्केको न मेरो रहर
न मेरी भान्जी बलात्कृत भएकी छ न मेरी बुहारी
नौलो जनवाद आएपछि
’हुनुपर्ने’ र ’पुगिने ठाउँ’
पुगिसकेँ म
अब तँ आफैंै भन् त रोल्पा,
के म पटमुर्ख छु र,
’काठमाडौंलाई रोल्पा’ बनाउने जोखिम मोल्छु ?’

नवीन विभास, हटारु ब्लगस्पटबाट ।

पार्टीको आठौं महाधिवेशनको बन्दसत्रका लागि यसपालि जनयुद्धको प्रमुख केन्द्र रहेको रोल्पाको जैमकसला, उवाहुँदै थबाङ पुगेर काठमाडौं फर्केपछि नवीन विभासको यी कविताका हरफहरुले निकै झस्काइरह्यो ।

बन्दसत्रका लागि थबाङ पुग्न हामीले यसपालि रोल्पाको पछिल्लो गाउँले परिवेशलाई नियाल्नु थियो ।

हाम्रो टोलीसँग दुईवटा विकल्प थिए । एउटा काठमाडौंबाट रोल्पा सदरमुकाम पुगेर गाडीबाटै थबाङ पुग्ने र अर्को रोल्पाको सुलिचौर झरेर जैमकशलाको फुलिवनबाट हिडेर थबाङ पुग्ने । यी दुई विकल्पमध्ये हाम्रो पाँच जनाको टोलीले दोस्रो विकल्प रोज्यो ।

हाम्रो टोलीमा यो पंक्तिकारसहित जनसांस्कृतिक महासंघका महासचिव खेम थपलिया, केन्द्रीय प्रकाशन विभागका चिन्तामणि घिमिरे, जनसांस्कृतिक महासंघकै केन्द्रीय सदस्य मेखबहादुर मोक्तान र पत्रकार एवं साहित्कार यादव देवकोटा थिए । देवकोटा महाधिवेशन प्रतिनिधि नभई थबाङ घुम्नका लागि मात्र गएका थिए ।

फागुन २ गते बेलुकी नाइट बसमा हाम्रो ५ जनाको टोली काठमाडौंबाट रोल्पा सुलिचौरका लागि प्रस्थान ग¥यो ।

३ गते बिहान सुलिचौरमा हाम्रो टोली ओर्लियो । त्यहाँबाट हामीलाई जैमकशलाको फुलिवनसम्म पुग्न लोकल गाडी समाप्नु पर्ने । चियाँ खाएर एकछिन आराम गर्दा बिहानको ८ बजेको गाडी छुट्यो । हामीले १० बजेको गाडी समायौं । दिउँसो १ मात्र बजे फुलिवन पुग्यौं ।

दिउसोको खाना हामीले २ बजे मात्र खायौं । फुलिवनमा खाना खाइसकेपछि हाम्रै पार्टीका पूराना कमरेड सहाससँग भेट भयो । उनले जनयुद्धमा निकै ठूलो योगदान गरेका छन् । उनको घर उवामा पर्छ । जनयुद्धमा उनको सिंगै परिवार पूर्णकालीन भयो । जनयुद्धमै उनको परिवार थबाङको जनकम्युनमा सहभागी समेत भयो ।

कमरेड सहाससँग केही समय भलाकुसारी गरेपछि हाम्रो टोलीले फुलिवनबाट उवाका लागि यात्रा अगाडि बढायो । त्यो दिन बेलुकी हाम्रो टोली उवाको ठूलो गाउँमा बाँस बस्न पुग्यो ।

४ गते विहानै हाम्रो टोली उवाको ठूलो गाउँबाट हिडेर सहिद कमरेड ज्वारको गाउँ थर्पुतिर लाग्यो । सहिद ज्वार रोल्पाको पूर्वी बेल्टमा जनयुद्धमा सहिद हुनेमा निकै ठूलो कमाण्डरको रुपमा पर्दछन् । उनी अर्घाखाचीको लडाइँमा सहिद भएका थिए । उनको जीवनसाथी सम्झना घर्ति अहिले हाम्रो पार्टीमा माथिल्लो महिलामा नेतृमा छिन् ।

सहिद ज्वारकी अामासँग हाम्रो टोली

सहिद ज्वारको गाउँ पुग्दा बिहान ९ बजेको थियो । सहिद ज्वारकी आमासँग भेट भयो । सामान्य भलाकुसारी गरियो आमासँग । उमेरले ७० वर्ष पार गरेकी आमा घर नजिकै बारीमा हल्का काम गरिरहेको अवस्थामा भेट भयो । सहिदकी आमा । उमेरले पाको भएर होला अनुहार निकै चाउरी परेको ।

साहित्यकार र पत्रकार साथीहरुले सामान्य भलाकुसारी गरेपछि सहिद आमासँग विदा भएर हामी अघिल्लो यात्राका लागि प्रस्थान गर्छौ । सहिद आमाले खाना खाएर जाने प्रस्ताव गरेपनि हामी थबाङ पुग्न ढिला हुने भएकोले त्यहाँबाट थबाङको सिमानामा पर्ने उवाको अर्को ठाउँमा खान पुगियो ।

खाना खाइसक्दा २ बजेको थियो होला । हामीले उवालाई छोडेर थबाङ प्रवेश ग¥यौं । थबाङको पहिलो गाउँ फुन्टीबाङ पुगेर जनयुद्धका क्रममा तत्कालीन माओवादीको केन्द्रीय समितिको बैठकस्थल निरीक्षण ग¥यौं । फोटाहरु खिच्ने काम भयो । त्यसपछि हामी कम्युन भएको ठाउँ राचिबाङ पुग्यौं ।

जनयुद्धबाट शान्तिवार्तामा आइसकेपछि कम्युन लथालिंग भएको अवस्था छ । चियाँ खायौं । सामान्य कुराकानीपछि हामी ठूलो गाउँ थबाङतिर लाग्यौं ।

फागुन ४ गते बेलुकी महाधिवेशन सम्पर्कस्थल ठूलो गाउँ थबाङ पुुगियो । महाधिवेशन प्रतिनिधिहरुको आगमनले थबाङ भरिभराउ थियो । गाउँका जनताले भव्य रुपमा स्वागत गरे प्रतिनिधिहरुलाई ।

अर्को दिनदेखि महाधिवेशनको बन्दसत्रका लागि फागुन ५ गतेदेखि १० गतेसम्म हलमा बसियो । १० गतेको बन्दसत्र सकिएसँगै हाम्रो टोली काठमाडौं फर्कियो ।

काठमाडौं फर्केपछि नवीन विभासको कविताले यो पंक्तिकारलाई निकै झस्काइरह्यो ।

हुन त यो कविताबाट झस्किने पर्ने माओवादी केन्द्रका नेताहरुलाई हो । खासगरी पुष्पकमल दाहाल प्रचण्ड, कृष्णबहादुर महरा, वर्षमान पुन अनन्त, नन्दकिशोर पुनलगायतका नेताहरुलाई झस्काउनु पर्ने । किनभने उनीहरुले नै हो जनयुद्धलाई समाप्त पारेको । जनसेना विघटन गरेको । हाम्रा जनसत्ता, आधारइलाका सबै उपलव्धि प्रचण्डको सनकमा ध्वस्त पारिएको हो ।

त्यही दश वर्षे जनयुद्धको जगमा उनीहरु धेरै पटक सरकारमा गए । रोल्पाकै माओवादी नेताहरु कृष्णबहादुर महरा, नन्दकिशोर पुन, वर्षमान पुन, ओनसरी घर्तिलगायत थुप्रै माओवादी केन्द्रका नेताहरु सरकारमा पुगे । तर रोल्पाको जीवनमा ठूलो परिवर्तन कहिल्यै परिवर्तन आएन ।
यथार्थमा जनयुद्धताकाको रोल्पा र आजको रोल्पामा कुनै भिन्नता छैन । मोटरबाटो गाविसका केही भागमा पुग्नु बाहेक अरु कुनै परिवर्तन छैन । जनताको जीवनस्तर उही छ ।

आज पनि रोल्पाका अनुत्तरित प्रश्नहरू छन् – दश वर्ष जनयुद्ध लडेर रोल्पाले के पायो ? रोल्पाली जनताले के पाए ? यीलगायत थुप्रै प्रश्नहरू छन् ।

वास्वतमा दश वर्षे जनयुद्धमा रोल्पाले धेरै गुमायो । त्यो बेला बलिदान, त्याग र पसिना रोल्पाको संस्कृति बन्यो । जनयुद्धमा झण्डै एक हजारको हारहारीमा रोल्पाबाट सहिद भए । सयौं घाइते भए । कयौं बेपत्ता छन् । हजारौं कार्यकता पूर्णकालीन बने । ओहो, कत्रो इतिहास छ रोल्पाको ! जनयुद्धको बेला रोल्पाका माओवादी कार्यकर्ताहरु नेपालको कुन ठाउँ होस् जहाँ नपुगेको । पूर्वदेखि पश्चिम, हिमालदेखि पहाड । सबैतिर पुगे । आगो झैं बनेर फैलिए ।

त्यत्रो बलिदान, त्याग र पसिना खर्चेको रोल्पाले केही पाएन । रोल्पाली जनताले केही पनि पाएनन् ।

मात्र प्रचण्डदेखि कृष्णबहादुर महराहुँदै माओवादी केन्द्रका नेताहरुले रोल्पालाई वुर्जुवा सत्तामा पुग्ने भर्याङ बनाए । त्यो भ¥याङबाट प्रचण्ड र महरा पालैपालो सांसद बने । मन्त्री र प्रधानमन्त्री बने । तर रोल्पाली जनता र जनयुद्ध लड्ने कार्यकर्ताले कुनै उपलव्धि पाएनन् ।

उपलव्धि पाएका हुन्थे भने रोल्पाका होनहार माओवादी योद्धा श्यामबहादुर बुढा ‘चिन्तन’हरु ४५ वर्षको उमेरमा जापान हान्निएका हुन्थेनन् । अरु सयौं माओवादी कार्यकर्ताहरु अरबको मरभूमिमा गोली बोकेर गुलामी बन्न गएका हुन्थेनन् । अनि सहिद किमबहादुर थापा ‘सुनील’की जीवनसाथी बागमती थापाहरु घर–गोठमा फर्किएका हुन्थेनन् ।

तर, कस्तो विचित्र ! भइदियो उल्टो ।

आर्थिक जीवनमा नफेरिएको थबाङ

यथार्थमा जनयुद्ध रोल्पाले लडेको हो । रोल्पाली जनताले लडेको हो । बलिदान रोल्पा र रोल्पाली जनताले गरेको हो । जनयुद्धमा न प्रचण्डका छोराछोरीले बलिदान गरे न त कृष्णबहादुर महराका सन्तानले । त्यसो हुन्थ्यो भने उनीहरुले सजिलै जनयुद्धलाई विसर्जन गरेका हुँदैनथे । किनकि जसले श्रम, पसिना र रगत खर्चेको हुन्छ उसैलाई त्यसैको मायाँ र जिम्मा हुन्छ ।

प्रचण्डहरु जनयुद्धकालभरि भारतमा बसे । उतै आश्रयस्थल लिएर बसेका हुनाले उनीहरुलाई जनयुद्धको वास्तविक पीडा हुनै सकेन । त्यसैले प्रचण्डले एउटा विज्ञेप्तीको भरमा जनयुद्ध र जनसेनालाई समाप्त भएको घोषणा गर्न पुगे । त्यही कारण आज रोल्पा र सबैले पीडा भोग्नु पर्यो ।
खैर, जे भएपनि अब प्रचण्डहरुको धोका इतिहास बनेको छ । रोल्पा प्रचण्डहरुको धोका र गद्धारीका कारण घाइते भएको छ । घाइते भएर पनि जुरुक्क उठ्ने संकल्प गरेको छ रोल्पाले ।

प्रचण्ड र महराहरुले रोल्पालाई गरेको धोका र गद्धारीका विरुद्ध हाम्रो पार्टीका महासचिव कमरेड नेत्र विक्रम चन्द विप्लवले हालै रोल्पा सदरमुकामबाट चुनौती दिएर फर्कनु भएको छ । महासचिव कमरेड विप्लवले रोल्पाको सपना पूरा गर्न प्रचण्ड र महराले जस्तो धोका र गद्धारी नगर्ने संकल्प गर्नु भएको छ । बरु मर्न तयार तर रोल्पालाई कहिल्यै धोका नदिने प्रण गरेर फर्कनु भएको छ ।

फेरि पनि भनौं, रोल्पा यतिबेला घायल छ । आफ्नै कमाण्डरद्धारा हानिएको गोलीद्धारा घाइते बनेको छ । तर घाइते रोल्पा फेरि जुर्मुराउँदै उठ्न थालेको छ । थबाङले प्रचण्डहरुलाई यसअघि नै चुनौती दिइसकेको छ । जेलबाङ, गाम र फगामले विप्लवलाई हेरेर अब नयाँ कसम खाँदैछ ।
इरिबाङ, घर्तिगाउँ र कोटगाउँहरुले पनि प्रचण्डलाई लर्लकारेका छन् । अनि खंग्री, घोडागाउँ र मसिनाहरुले पनि थबाङको बाटो पछ्याएर प्रचण्डहरुलाई चुनौति दिएका छन् । समग्रमा रोल्पा उठ्न थालेकोे छ । उठेको छ ।

त्यसैले वरिष्ठ साहित्यकार दिल साहनीले हालसालै रोल्पाबारे यस्तो टिप्पणी गरेका छन् ः

मात्र अलिकति घाइते भएको छ रोल्पा
गोली लागेको बाघ भएको छ रोल्पा ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार