नयाँ शक्तिमा पार्टी संयोजक बाबुराम भट्टराईले पार्टीमा दमन र निषेधको राजनीति चलाएको भन्दै सोही पार्टीका नेता निर्मल भट्टराईले त्यसको सशक्त प्रतिरोध गर्ने बताएका छन् ।

निर्मल भट्टराईले आफ्नै सिसाको घरमा बसेर आफैले अन्धाधुन्ध प्रहार गरेको भन्दै त्यसका विरुद्ध उत्रन उनले देशभरिका नेता कार्यकर्तालाई एक विज्ञेप्तीमार्फत अपिल गरेका छन् ।

‘मसँग निकट रहेर नयाँ शक्ति निर्माणमा अहोरात्र लागेका स्थानीय समिति र कार्यकर्ताहरुलाई देशव्यापी रुपमा दमन र निषेधको श्रृंखला चलाईयो ।’ उनले जारी गरेको विज्ञेप्तीमा उल्लेख छ– ‘पार्टीका संयोजक डा. बाबुराम भट्टराईबाट पार्टीभित्र आफ्ना प्रतिस्पर्धी र आन्तरिक प्रतिस्पर्धालाई स्वागत गर्ने अपेक्षा विपरीत यति धेरै असहिष्णु बन्नुभयो कि हरेक आग्रहका बाबजुद दमनको उक्त श्रृंखला रोकिएन ।’

पार्टीमा बाबुरामको निरंकुश र दमनको चक्र नरोकिएको भन्दै निर्मल भट्टराईले यही फागुन राष्ट्रिय भेलाको आव्हान समेत गरेका छन् । त्यो भेलामा उपस्थितिमा निम्ति उनले देशभरिका नेता कार्यकर्तालाई अपिल गरेका छन् ।

निर्मल भट्टराइले जारी गरेको विज्ञेप्तीको पूरा पाठ ः

नयाँ शक्ति पार्टी, नेपालको विधान लागु भएलगत्तै सोही विधानको प्रावधान बमोजिम मैले पार्टीको आगामी महाधिवेशनमा आफू सो पार्टीको अध्यक्षमा प्रतिस्पर्धा गर्ने एक पत्रकार सम्मेलन मार्फत सार्वजनिक धोषणा गरेको थिएं ।

यो मैले कुनै आवेग वा आक्रोशमा गरेको निर्णय थिएन । यो एउटा प्रत्यक्ष लोकतन्त्रमा विश्वास गर्ने पार्टीका हरेक नेता कार्यकर्ताको नैसर्गिक, कानुनी र वैधानिक हकको विषय थियो । तर सो घोषणाको केही घण्टा नवित्तै मसंग निकट रहेर नयाँ शक्ति निर्माणमा अहोरात्र लागेका स्थानीय समिति र कार्यकर्ताहरुलाई देशव्यापी रुपमा दमन र निषेधको श्रृंखला चलाईयो । पार्टीका संयोजक डा. बाबुराम भट्टराईबाट पार्टीभित्र आफ्ना प्रतिस्पर्धी र आन्तरिक प्रतिस्पर्धालाई स्वागत गर्ने अपेक्षा विपरीत यति धेरै असहिष्णु बन्नुभयो कि हरेक आग्रहका बाबजुद दमनको उक्त श्रृंखला रोकिएन ।

लामो समयपछि उहाँले नै सहीछाप गरेको संविधान बमोजिम हुनलागेको स्थानीय तहको निर्वाचन स्थगित गराउने आग्रह बोकेको विज्ञप्तिमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसंग सही गरेपछि पार्टीको पक्षमा चुनावी माहौल बनाउन तल्लीन कार्यकर्तामा गम्भीर आघात पुग्यो । सो आघातमा तत्काल मल्हमपट्टी लगाउन हामी नौ अभियन्ताले सो निर्णय अविलम्व सच्याउन सार्वजनिक अपील गरेका हौं । त्यस पछि त झन पार्टीभित्र निषेध र दमन चरम चुलीमा पुगेको छ । यो खेदजनक छ ।

म डा. भट्टराईलाई आग्रह गर्न चाहन्छु—तपाईं आफू सिसाको घरमा बसेर अरुलाई अन्धधुन्ध ढुगां प्रहार नगर्नुहोस । बरु पार्टीभित्र वर्तमानमा देखा परेको असन्तुष्टी व्यवस्थापन गर्ने प्रष्ट खाका बनाउनुहोस् ।

यो विषम परिस्थितिमा म देशभरिका निषेध, दमन र बहिस्करणमा परेका तमाम नेता कार्यकर्ता साथीहरुलाई वृहद् छलफलको लागि यही फागुन २६ गते काठमाण्डौमा उपस्थित हुन हार्दिक आव्हान गर्दछु ।

निर्मल भट्टराई
९८५१०११११७

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार