भारतको अनेकन प्रयासलाई रातो झन्डा देखाउँदै अमेरिकाले एच-१बी भिसाको प्रक्रियालाई ६ महिनाका लागि निलम्वित गरिदिएको छ ।
अमेरिकाले एचवानबी भिसामा कडाई गरेपछि भारतस्थित न्यास्कमका केही सदस्य र विदेश सचिव एस जयशंकरको नेतृत्वमा कयौँ अधिकारीले अमेरिका गएर यस मामिलामा आफ्नो देशको धारणा राखेर मनाउन प्रयास गरेका थिए ।

यसबारेमा अमेरिकाले एच-१बी भिसाको मुद्दा आफ्नो प्राथमिकतामा नरहेको जवाफ दिएको थियो । एच-१बी भिसामा नयाँ नीति अमेरिकाको अध्यागमन सुधारको व्यापक नीतिको एक भाग थियो । यस आश्वासनपछि पनि अमेरिकाले भारतलाई रातो झन्डा देखाउँदै एच-१बी भिसाको प्रिमियम प्रोसेसिङलाई ६ महिनाका लागि निलम्वित गरिदिएको हो ।
अघिल्लो महिना मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी सांसदको प्रतिनिधिमण्डलसँग भएको बैठकमा एच-१बी भिसालाई लिएर सकारात्मक बनिदिन आग्रह गरेका थिए ।
मोदीले राष्ट्रपति ट्रम्पसँग भएको सकारात्मक वार्तालाई सम्झिँदै अढाई वर्षयता गहिरिएको द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धताबारेमा बताएका थिए । मोदीले कामकाजी र व्यावसायिक मानिसको आवतजावत सहज बनाइराख्न पनि अपिल गरेका थिए ।
प्रिमियम प्रोसेसिङ्गमार्फत एच-१बी भिसाका निवेदकको प्रक्रिया तीब्र गतिमा अघि बढाउने गरिन्छ । भारतीय टीम अमेरिका पुगेर एच-१बी भिसाबारे ट्रम्प प्रशासनलाई गम्भीरतापूर्वक सोच्न आग्रह गरेको केही दिन नबित्दै यो भिसा प्रक्रियालाई ६ महिनाका लागि निलम्बन गरिएको हो ।
साधरणतया एच-१बी भिसाको अनुमति मिल्न कम्तिमा पनि ३ देखि ६ महिनासम्म लाग्छ । तर कम्पनीहरुले १२२५ डलर रकम तिरेपछि १५ दिनभित्रमै यो भिसा दिने गरिएको छ । अमेरिकाले यही व्यवस्थालाई ६ महिनाका लागि निलम्बित गरिदिएको हो ।
सबैभन्दा रोचक पक्ष भनेको भारतीय विदेश सचिव एस जयशंकर र कमर्स सचिव रिता तेवतियाले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेटेको केही घन्टापछि अमेरिकाको यस्तो कठोर निर्णय आएको हो ।







