प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २ महिना लगाएर गरेको सुन तस्करीको अनुसन्धानमा तस्करीको मुख्य योजनाकार कामदारको रुपमा दुबई पुगेका नेपाली देखिएको छ।

त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुनको जालोमा उच्च तहसम्मको संलग्नताको आशंका गरिए पनि ब्युरोको अनुसन्धानमा १२ वर्ष अगाडि कामदारका रुपमा दुबई गएका काभ्रेका हरिशरण खड्का सो जालोको मुख्य नाइके भएको उल्लेख छ।
खड्काको सम्पर्क जालो, दुबई र नेपालमा रहेको उसको सम्पत्ति र व्यवसाय तथा छोटो समयमा खड्काको बढेको आर्थिक हैसियतको विश्लेषणका आधारमा प्रहरी सुन तस्करीको नाइके ऊ नै भएको निष्कर्षमा पुगेको देखियो।
ब्युरोले आइतबार सार्वजनिक गरेको अनुसन्धान विवरण अनुसार उनले दुबईमा बसेर दुबई र नेपालमा रहेका २९ जनालाई परिचालन गरेर १७ महिनादेखि सुन तस्करी गराउँदै आएका थिए।
ब्युरोका अनुसार उनी दुबई जाँदा कामदारको रुपमा गएका हुन्। त्यहाँ पुगेको केही समयपछि उनले दुबईमा रहेका नेपाली नागरिकको पैसा संकलन गरी हुण्डीमार्फत् नेपाल पठाउने धन्दा शुरु गरेका थिए।
सुन तस्करीको प्रारम्भिक चरण हुण्डी रहेको प्रहरीको निष्कर्ष देखियो। खड्काले हुण्डीका लागि जम्मा भएको पैसा उनले दुबईमा याक एण्ड यति रेष्टुरेण्टमा लगानी गरे र उनको पार्टनर बने रोशन भुषाल।
रेष्टुरेण्टबाट राम्रै आम्दानी हुन थाल्यो। यहीबीच खड्काको परिचय चुडामणि उप्रेतीसँग भयो। ब्युरोकी प्रवक्ता मीरा चौधरीले पहिलोपोस्टलाई दिएको जानकारी अनुसार उप्रेती पहिल्यैदेखि सुन तस्करीमा संलग्न थिए।
चौधरीको दावी छ- उप्रेतीको प्रस्ताव अनुसार खड्का सुन तस्करीमा संलग्न भए। तस्करी गर्न सहज होस् भनेर उनले दुबईमा सुन पसल खोले। उनको नाममा दुबईमा दुई वटा सुन पसल रहेको प्रहरीको दावी छ।
प्रहरीका अनुसार उनले दुबईमै ट्रेडिङ व्यवसायका लागि बागमति ट्रेडिङ एलएलसी कम्पनी दर्ता गरे। उनले काठमाडौंमा दरबार रोधी क्लब खोले। दुबईमा रहेको सुन पसल, बागमति ट्रेडिङ र दरबार रोधीलाई आवरण बनाएर खड्का डेढ वर्षमा सुन तस्करीको नाइके बनेको प्रहरी अनुसन्धानको निष्कर्ष देखिन्छ।
खड्काको नाममा लाजिम्पाटमा एक घरसमेत रहेको प्रहरीले फेला पारेको छ। ब्युरोका अनुसार खड्काले उतै रहेका उनका सहयोगी, भन्सारका कर्मचारी र प्रहरी तथा नेपालमा रहेका सहयोगी र सुन व्यापारीको संलग्नतामा १७ महिनादेखि नेपालमा सुन तस्करी गराउँदै आएका थिए।
तस्करीको समयावधि तोके पनि प्रहरीले सार्वजनिक गरेको अनुसन्धान विवरणमा तस्करी भएको सुनको परिमाण भने खुलाइएको छैन ।







