सप्तरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते घाइते भएका छन् ।

नेकपा (एमाले) को मेची–महाकाली अभियानमा सप्तरीमा प्रहरीले चलाएको गोली लागेर मलेठ-२ का सञ्जय मेहताको निधन भएको हो । अन्य १५ जना घाइते भएका छन् ।
कार्यक्रम सकिएपछि कन्चनपुरतर्फ लागेको एमालेको टोलीलाई रोक्दै मोटरसाइकल र अन्य सवारीसाधन तोडफोडमा उत्रेपछि प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप भएको थियो ।
झडपका क्रममा राजविराजको औद्योगिक क्षेत्र नजिकै प्रहरीले चलाएको गोली लागेर सप्तरीकै मलेठका मेहताको ज्यान गएको हो ।
औद्योगिक क्षेत्रभित्र एमालेको कार्यक्रम भइरहँदा बाहिर मोर्चाका कार्यकर्ता प्रदर्शनमा उत्रेका थिए । लाठी र घरेलु हतियारसहित प्रदर्शनमा उत्रेका मोर्चाका कार्यकर्ता उग्र बनेपछि रोक्ने क्रममा प्रहरीले गोली चलाएको हो ।
सप्तरीमा प्रहरीको गोली लागेर आफ्नो कार्यकर्ताको निधन भएपछि मधेशी मोर्चाको काठमाडौंमा आकस्मिक बैठक बस्ने भएको छ।







