रुसी अक्टोबर क्रान्तिका नायक लेनिनलाई गोली हानिएको थियो । त्यसरी गोली हान्ने महिला नै थिइन् । उनको नाम फेन्या कप्लान थियो ।

त्यहाँ भएको के थियो भने सत्ता सम्हालेपछि लेनिनको बोल्सेविक पार्टीले अटुट रूपमा आर्थिक विचार र नीतिहरू लागु ग¥यो तर ती प्रत्युत्पादक सावित भए । भोकमरी सुरु भयो, सहरबाट मानिसहरू रित्तिए र मानिसको जीवनस्तरमा खतरनाक गिरावट आयो । यी नीतिहरू यति अलोकप्रिय भए कि सन् १९२१ को मध्यमा यसमा परिवर्तन गर्दा लेनिनले यसको इतिहास बेग्लै तरिकाले लेख्ने प्रयास समेत गर्नुप¥यो ।
सन् १९१८ देखि सन् १९२१ सम्म बोल्सेबिकले उपयोग गरेको नीतिलाई ‘युद्ध कम्युनिज्म’ को रूपमा चिनिन्छ जुन युद्धको अवस्थाले निम्त्याएको एउटा अस्थायी अवस्था थियो । लेनिनको प्रयास पूर्ण समाजवाद ल्याउने थियो तर त्यो अवश्य पनि सरल र सहज थिएन । क्रान्ति गर्न त्यति गा¥हो नहुने तर क्रान्ति सम्पन्न भइसकेपछि त्यसको व्यवस्थापन गर्न धेरै नै कठीन हुने कुरा हामी रसियन क्रान्ति र त्यसपछिका परिघटनाबाट थाहा पाउन सकिन्छ । व्यवस्थापनका कतिपय उल्झनले रुष्टताको मात्रामा वृद्धि गर्दैछ भन्ने कुरा भीआई लेनिनलाई पनि थाहा थियो ।
फेन्या कप्लान गरिब किसान परिवारमा जन्मेकी थिइन् । क्रान्तिकारी राजनीतिमा कप्लान आवद्ध भइन् र सोसलिस्ट रिभोल्सनरी पार्टीको सदस्य बनिन् । सन् १९०७ मा किममा जार अधिकारीलाई मार्ने योजनामा उनले भाग लिइन् र कप्लानलाई समातियो र साइबेरियामा आजन्म कठोर कारावासको सजाय दिइयो ।
११ वर्ष पश्चात उनी जेलमुक्त भइन् । ३० अगस्ट सन् १९१८ मा लेनिनले मास्कोको एउटा सभामा बोले । जब लेनिनले सभा छाडे तब कप्लानले उनीसँग कसरी देश चलाइरहेका छौ भनेर सोध्ने प्रयास गरिन् । कारमा चढ्नुभन्दा पहिला उक्त महिलालाई जवाफ दिन लेनिन फर्किए । त्यही बखत कप्लानले उनीमाथि ३ गोली दागिन् । दुईवटा गोली लेनिनको शरीरमा छि¥यो र अवस्था जटिल थियो ।
३ सेप्टेम्बर १९१८ मा एउटा बाल्टिक नाविक पावेल माल्कवले फेन्या कप्लानलाई गोली हानेर मारिदिए । उनको लास गाडिएन किनकि उनको अस्थी सम्पूर्ण रूपले नष्ट होस् । यो फेन्याप्रतिको चरम घृणा र लेनिनप्रतिको उच्च प्रेमको द्योतक थियो ।
गिरफ्तारपछि फेन्याले यसो भनेकी थिइन्, “आज मैले लेनिनलाई गोली हानेँ । यो मैले आफैँ गरेको हो । कसबाट मैले बन्दुक पाएँ, म भन्दिनँ । म कुनै व्याख्या गर्दिनँ । मैले लेनिनलाई मार्ने विचार पहिल्यै तय गरेको थिएँ ।”
खेप थपलियाको लेखबाट ।







