नेपाली कांग्रेसका नेता प्रदीप गिरिले कांग्रेस पार्टीको जन्म र यसका नेताहरु भारतको प्रभाव र निर्देशनमा भएको स्वीकार गरेका छन् ।

गिरिले कांग्रेस एलिट र सामन्तहरुको पार्टी भएको समेत स्वीकार गरेका छन् । नेपाल खबर अनलाइनसँगको कुराकानीमा गिरिले एलिट राणादेखि एलिट मधेशीहरु आफ्नो जमिन र धन जोगाउन कांग्रेस भएको बताएका छन् ।

‘मैले खासमा भन्न खोजेको के भने काङ्ग्रेसको स्थापनामा काठमाडौंको दरबारभित्रको ‘एलिट’ (धपाइएको एलिट) र मधेसको जमिन्दारको नेतृत्व र भूमिका छ।’ गिरिले भनेका छन्- ‘ध्यानपूर्वक हेर्ने हो भने भीम शमशेरका साख्खै सन्तान र भीम शमशेरका दरबारियाहरूले नै काङ्ग्रेस बनाएका छन्। सुन्दा यो काङ्ग्रेसविरोधी कुरा जस्तो लाग्न सक्छ। इतिहासलाई सही ढङ्गले नबुझ्ने मान्छेले मेरो कुरामा नकारात्मक प्रतिक्रिया पनि व्यक्त गर्लान्।’

साथै उनले कांग्रेसलाई भारतले हुर्काएको र संरक्षण गरेको समेत स्वीकार गरेका छन् । उनले भनेका छन् –

‘निष्कर्षमा के भन्न सकिन्छ भने नेपाली काङ्ग्रेसको नेतृत्वको निर्माण वैचारिक दृष्टिले भारतीय राष्ट्रिय काङ्ग्रेसको प्रभावमा गान्धी र नेहरूको विचारधाराअन्तर्गत नै भयो। गान्धीजस्तै यो पार्टी पनि मूलतः क्रमशः सम्झौतावादी ढंगले अगाडि बढ्छ। तर देशभित्रको कुरा गर्दा यसको नेतृत्व पंक्तिमा कुन वर्गका मानिस थिए भन्ने कुरा महत्वपूर्ण छ। उनीहरू थिए– राणाकै वरिपरि हुर्किएका, राणाद्वारा नै सेवित र पोषित तर राणाको राजदरबारमा भूमिका खोसिएर विदेशिनु परेका खलकका सन्तान। तिनीहरूका छोरा–नातीहरूमध्ये गान्धी र नेहरू विचारधाराबाट प्रभावितहरू अगाडि आए। तर ती अधिकांश ‘एलिट’ नै थिए।’

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार