नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले संसदवादीहरुले घोषणा गरेको चुनावलाई बहिष्कार मात्र होइन खारेज गरेर जाने बताएका छन् ।

महासचिव विप्लवले साम्राज्यवादीहरुले प्रचण्ड र बाबुरामलाई किनेर, आत्मसमर्पण गराएर चुनावमार्फत् पूरानो सत्तालाई सुदृढ गर्न खोजेको बताएका छन् ।

पार्टी निकट साप्ताहिक रातो खबरलाई दिएको अन्तरवार्तामा महासचिव विप्लवले यस्तो बताएका हुन् ।

अन्तरवार्ताको छोटो अंश :

तपाईहरु महाविधेशनमै हुँदा सरकारले स्थानीय चुनाव घोषणा गरेको थियो, अब तपाईहरु के गर्नुहुन्छ ?

यो चुनाव कुनै नयाँ होइन । उनीहरुले नै भनिरहेको तर्क हेर्दा २० वर्षदेखि गर्न नसकेको संसदीय व्यवस्थाको स्थानीय चुनाव हो । जनयुद्ध र जनसत्ताहरु देशैभरि चलेको कारणले हुन सकेको थिएन । आज शान्तिप्रक्रियामा आएर, आत्मसमर्पण गराएर त्यही चुनाव गर्न खोज्दैछन् । जुन चुनाव २०५४ साल, ०५६ र ०६१ सालमा नै खत्तम भइसकेका थिए ।

अर्कोतिर जब शान्तिकालमा कांग्रेस र एमालेले संसदीय व्यवस्था स्थापना गर्ने संविधान पास गरेर सत्ता बनाउन थाले, त्यसैबेला आजभन्दा २ वर्षपहिले नै हामीले जनताको सत्ता निर्माण सुरु गरिसकेका छौ र नेपालमा हाल दुई सत्ता संचालन भएको अवस्था छ । यसबेला यो चुनावको कुनै औचित्य नै छैन । बरु दुई सत्ता सँगसँगै प्रतिस्प्रधामा गइरहेका छन् । उनीहरुले उनीहरुको सत्ताको संचालन गर्नेछन् भने हामी हाम्रै सत्ताको चुनाव गर्दै जानेछौं ।

जनताले प्रष्ट भाषामा भनिदिनुस् न आगामी चुनाव बहिष्कार गर्नुहुन्छ कि भाग लिनु हुन्छ ?

यो चुनावको बहिष्कार मात्र होइन खारेज गर्दछौं ।

सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले त चुनावविरोधीहरुलाई कुल्चन्छौं भन्नु भएको छ नि ?

दमनले विद्रोह र क्रान्ति जन्माउँछ भन्ने बुझे हुन्छ । बहिष्कार गर्ने र क्रान्ति गर्ने जनताको अधिकार हो । निरंकुश र तानाशाहले मात्र दमनमा समाधान खोज्छ । अपसोचको कुरा दमनको बाटो रोज्ने तानाशाहलाई विद्रोहले लापत्ता गरिदिएको इतिहास साक्षी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार