नेकपा एमालेका नेता माधव कुमार नेपालले कुनैबेला पार्टी बैठकमा भारतीय सेना र हतियारको सहयोग लिनुपर्ने प्रस्ताव लिएको मालेका तत्कालीन नेता राधाकृष्ण मैनालीले खुलासा गरेका छन् ।
मैनालीले भर्खरै बजारमा प्रकाशित गरेको नलेखिएको इतिहासमा यस्तो खुलासा गरेका हुन् ।

०४६ को आन्दोलन निरंकुश राजतन्त्रको अन्त्य र पंचायती व्यवस्था विघटनका लागि थियो । तर, तत्कालीन मालेका नेता माधवकुमार नेपाल भारतको सहयोग लिएर त्यतिबेलै गणतन्त्र स्थापनामा जानुपर्छ भन्नेमा थिए भन्ने कुरा मैनालीले पुस्तकमा खुलाएका छन् ।
०४६ को फागुन २० -२१ जनआन्दोलन चलिरहेको बेला पाटनको च्यासलमा बसेको नेकपा मालेको केन्द्रीय समितिको बैठकमा एउटा झलक प्रस्तुत गर्दै मैनालीले लेखेका छन्-
‘महासचिव मदनले एजेण्डा पेस गरेपछि माधवले सुरुमै प्रस्ताव राखे- ‘यो आन्दोलनलाई भारतले यथेष्ट सहयोग गर्ने भनेको छ ।’ ‘के सहयोग ?’ मदनले सोधे । ‘हतियारको सहयोग ।’ माधवले सगर्व भने । ‘हतियार चलाउन तालिम लिनु पर्यो, हामीसँग अनुभवी कार्यकर्ता छन् र ?’ मदनले फेरि सोधे । ‘हतियार चलाउने मानिस पनि आउँछन्’ । माधवले फरर्र उत्तर दिए ।
आन्दोलनलाई गणतन्त्रसम्म पुर्याउन सहयोग स्वीकार्नु पर्ने व्याख्यासमेत सुनाए माधवले ।
म र सीपीले बोल्न समय मागेका थियौं, मदनले चुप लाग्न इशारा गरे र आफैं बोले- ‘होइन विवेक (माधवको भूमिगत नाम) कामरेड यो कस्तो प्रस्ताव हो ? पार्टीको केन्द्रीय समितिको बैठकमा विदेशी सेना भित्राउने प्रस्ताव ल्याउन मिल्छ ? भारतीय त के चिनियाँ लालसेना आए पनि हामी स्वीकारदैनौं । तपाईको यस्तो प्रस्ताव कम्युनिस्ट पार्टीप्रतिको ठूलो अपमान हो । राष्ट्रको स्वाभिमान लुट्ने चाल हो । त्यसैले यसलाई फिर्ता लिइहाल्नुस् ।’
माधवको प्रस्ताव माइन्युट त हुन पएन नै, बोली नै फिर्ता लिन लगाए मदनले ।
त्यसपछि चैत्र २ गते च्यासलमै मालेको केन्द्रीय कमिटिको अर्को बैठक बस्यो । अघिल्लो बैठकमा अस्वीकृत प्रस्ताव माधवले फेरि दोह्रयाए- ‘एकदम जिम्मेबार तहबाट भारतीय सहयोग आउने भएको छ, हतियार नेपालीहरुले नै प्रयोग गर्ने गरी’ । ‘कसरी ?’ मदने सोधे । ‘भारतीय सेनामा कार्यरत नेपाली जवानहरुलाई छुट्टीमा नेपाल पठाइन्छ र उनीहरुले ती हतियार चलाउनेछन् । अब जसरी पनि गणतन्त्र ल्याउनुपर्छ ।’ माधवले निर्धक्क भने ।
यसपटक मदनले अघिल्लोपटक भन्दा बेस्सरी झाँटेपछि माधवले फेरि त्यस्तो प्रस्ताव ल्याएनन् ।







