नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सिपी गजुरेलले प्रचण्ड नेतृत्वको सरकार भारतको कठपुतली सरकार भएको बताउदै यो सरकार लामो समय टिके नेपाल सिक्कीमीकरण हुने चेतावनी दिएका छन् ।

रत्त सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै गजुरेलले प्रचण्ड नेतृत्वको सरकार मोदीको निर्देशनमा बनेको कन्चनपुर घटनामा मौन रहनुले स्पष्ट भएको भन्दै भारत भक्ति देखाउनैका लागि केही नबोल्नुले समेत कठपुतली भएको बताए ।
भारतले जे भन्यो त्यही गर्दै गइरहेको प्रचण्ड नेतृत्वको सरकार जति लामो समयसम्म टिक्छ त्यति नै छिटो नेपाल सिकिमिकरण तर्फ जाने भन्दै उनले नेपाल र नेपालीप्रति घात गरिरहेको यो सरकारलाई छिट्टै हटाउनु पर्ने बताए ।
सरकारले पश्चगामी संविधानलाई कार्यान्वयन गर्न देखावटी भए पनि निर्वाचनको मिति घोषणा गरेको भन्दै यदि यस्तै अवस्थामा निर्वाचन गर्न खोजे देश गृहयुद्धमा जाने निश्चित रहेको गजुरेलले बताए।
नेपालीेले क्रान्ति गरेर ल्याएको परिवर्तनलाई प्रतिक्रान्तितर्फ धकेल्ने काम भएको भन्दै गल्ती संविधान जारीमै भएकाले यसलाई सुधार गर्न संविधान खारेज गरी नयाँ शिराबाट देशलाई निकास दिन नसके देशले सधैं राजनीतिक संक्रमण ब्यहोर्नु पर्ने गजुरेलले बताए ।







