भारती सीमा सुरक्षाबलको (एसएसबी) गोली प्रहारबाट मृत्यु भएका पुनर्वास नगरपालिका ८ का गोविन्द गौतमको शवयात्रामा हजारौ सहभागी भएका छन्।

शवयात्रामा ‘हत्याको बदला लिन्छौं’ भन्दै ठूलो संख्यामा महिला, पुरुष, युवा, युवतीहरु र्यालीमा सहभागी भएका छन् ।
शवयात्रा धनगढी बजार हुँदै डोके बजार हुँदै पुनर्वासको दोदा नदीमा पुगेको छ। गौतमको दोदा नदीमा उच्च सम्मानका साथ अन्तिम संस्कार हुने छ। प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार ११ जना प्रहरीको टुकडीले उनलाई अन्तिम सलामी दिने छन्।
गौतमको शनिवार सेती अंचल अस्पतालमा पोष्टमार्टमा भएको छ। यस अघि स्थानीय बासिन्दा र उनका आफन्तले शहिद घोषणा नहुन्जेल पोष्टमार्टम गर्न दिएका थिएनन् । शनिवार गोविन्दको पोष्टमार्टम गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए।
गृहमन्त्रालयबाट आएको परिपत्र अनुसार सरकारी धुन बजाएर ११ जना प्रहरीको टुकडीले सलामी दिनेछ।







