नयाँ शक्तिका पूर्व नेता रामेश्वर खनालले नयाँ शक्ति नाम मात्र भएको तर भित्री रुपमा बिकृतिले काम नलाग्ने अवस्थामा पुगेको बताएका छन् ।

मंगलबार मात्र नयाँ शक्ति छाडेका खनालले चन्दा आतंकदेखि हरेक बिकृतिमा नयाँ शक्तिका हरेक नेता देखि कार्यकर्ता रहेको बताएका छन् । उनले पार्टीलाई बाबुरामले मनपरी ढंगले चलाएको आरोप लगाए ।

एक अनलाइन पत्रिकासँग कुराकानी गर्दै खनालले नयाँ शक्ति कुनै पनि मानेमा बाहिर रहेका पार्टीभन्दा नयाँ नभएको बताए ।

उनीसँगको कुराकानीको छोटो अंश :

नयाँ शक्तिलाई एउटा सम्भावनाको रुपमा हेरिएको थियो, त्यहाँभित्र के हुँदैछ ?

विशेष समस्या के भने माओवादी पार्टीमा जुन राजनीतिक चरित्र पहिले थियो, त्यो राजनीतिक चरित्रमा कति पनि सुधार आएन । बरु विकृति त्योभन्दा बढी हावी हुँदै गयो । चन्दा आतंकदेखि गुटगत राजनीतिमा त्यही हावी हुँदै गयो ।

कुरा गर्दा समतामुलक, सबैलाई समावेशी गर्नुपर्छ भन्ने र पार्टी चलाउने बेला आफ्ना मान्छेहरु मात्रै नजिक राख्ने भएपछि समावेशी, समतामुलक भएन नि ।

प्रत्येक राजनीतिक दलको समस्या, नारा निकै आदर्शवादी बनाउने, त्यस्तै कुरा गर्ने, काम त्यसको ठ्याक्कै उल्टो । नयाँ शक्ति पार्टीमा पनि देखिएको समस्या यही हो ।

उसोभए नयाँ शक्तिमा गुट पनि जन्मिइसकेको हो ?

एकदमै धेरै । गुट त जिल्ला-जिल्लामा पुगेको छ । पहिले गाउँ तहसम्म इकाइ नै थिएन । जहाँ संगठन बन्छ, त्यहाँ गुट हावी हुन थाल्यो । हामीले राजनीतिक नेतृत्वमा जुन राजनीतिक चरित्र हुनुपर्छ भनेर अध्ययन गरेका थियौँ, त्यो पाइएन । सबै चरित्र त्यागेर राजनीतिलाई उद्योग बनाउने, व्यवसाय बनाउने, कमाउने भाँडो बनाउने चरित्र हावी हुँदै गयो ।

हुन त यो नयाँ शक्तिमा मात्र होइन, सबै दलमा देखिएको समस्या हो । तर, नयाँ शक्तिमा त्यस्तो हुनुहुँदैन भन्ने मेरो विचार रहेको थियो ।

बाबुराम भट्टराईमा पनि यस्तो समस्या रहेछ ?

बाबुरामजीले गुट राजनीति म्यानेज गर्ने सामर्थ्य पहिले नै गुमाइसक्नुभएको रहेछ । सायद पहिले कुनैबेला उहाँको पनि त्यस्तो काममा संसर्ग भएको थियो होला । जुन व्यक्तिलाई पहिले उहाँले प्रोटेक्सन दिनुभयो, जुन व्यक्तिले सुरुमा उहाँलाई प्रोटेक्सन दिए, ती व्यक्तिलाई त डाक्टर सापले पनि क्षमा त दिनै पर्‍यो जस्तै गल्ति गरे पनि । उहाँ त्यसरी सबैलाई क्षमा दिनतिर लाग्नुभयो कि भन्ने लागेको छ । उहाँको काम गराइबाट यही देखिन्छ ।

उहाँसँग अहिले पनि कुराकानी हुँदा निकै आदर्शवादी कुरा गर्नुहुन्छ । मैले बुझेको छु, सुधार गर्नुपर्छ, यस्तो समस्या हटाउनुपर्छ, मैले बुझेको छु भन्ने तर पछि गएर तिनै मान्छेहरुलाई अगाडि बढाउने, उनीहरुलाई नै बढी विश्वास गर्ने स्थिति रहृयो ।

निर्णयहरु गोजीबाट आउँछ । लोकतान्त्रिक विधिमा त छलफल गरेर मात्र निर्णय हुन्छ । दिनभरि चार/पाँच घण्टा छलफल गर्‍यो, अन्तिममा निर्णय गोजीबाट खुर्लुक्क झरेर अर्कै आउँछ । त्यहाँ साथीहरुले माओवादी हुँदादेखि नै चलेको चलन हो, बोल्न सबैले पाउँछ, निर्णय अर्कै आउँछ भन्ने गर्थे । यस्तो संस्कार छोडौं भन्दा उहाँहरु त्यो छोड्न पनि तयार हुनुभएन ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार