उत्तरी छिमेकी चीनले तिब्बतको ल्हासा हुँदै काठमाडौँसम्म जोड्ने रेल्वे सञ्जालको निर्माण प्रक्रिया अघि बढाइरहँदा दक्षिणी छिमेकी भारतले काठमाडौँलाई सिधा दिल्लीसँग जोड्ने रेल्वे सञ्जाल निर्माणको तयारी थालेको छ।

भारतीय रेलमन्त्री सुरेश प्रभुले आफ्नो रेल सञ्जालले पुरै दक्षिण एसियालाई जोड्ने गरी महत्वाकांक्षी योजना ल्याएका हुन् । यो निर्णयसँगै भारतीय रेलबाट छिमेकी राष्ट्रसम्म पनि यात्रा गर्न सकिने भएको छ ।
रेलमन्त्री सुरेश प्रभुले दक्षिण एसियाको व्यापारमा बढावा दिन तथा यो क्षेत्रको गरिबी समाप्त गर्न भन्दै छिमेकी देशसम्म रेल सेवा शुरू गर्ने योजनालाई मञ्जुरी दिएका हुन् ।
रेलमन्त्रीले व्यापार बढाउनका लागि सबैभन्दा पहिले नेपालको राजधानी काठमाडौँसम्म जोड्ने रेल सञ्जाल निर्माण थालिने जनाएका छन् । उनले नेपालसँग सिधै सम्पर्क बढाउने कुरामा जोड दिँदै काठमाडौँबाट दिल्ली र कोलकाताका लागि रेल सञ्जाल निर्माण गरिने जनाएका हुन् । अन्तरमहादेशीय रेल सम्पर्कको विश्व मञ्चको उद्घाटन गर्दै उनले एसियालाई विश्वको अघिल्लो विकास केन्द्र बनाउने पनि उद्घोष गरे ।
भारतीय रेल्वेको योजनाबारे बताउँदै प्रभुले आफूहरु सबैभन्दा पहिले छिमेकी देशहरु नेपाल, भुटान, बंगलादेश, पाकिस्तान र अफगानिस्तानलाई जोड्ने तयारीमा रहेको उल्लखे गरे । ‘केही छिमेकी देशहरुसँग अहिले नै हाम्रो रेल सञ्जाल रहेको छ’, उनले भने, ‘जुन देशमा जोड्न आवश्यक छ, हामी त्यहाँ तीब्र गतिमा काम अघि बढाउँछौँ ।’
एसिया-प्रशान्त क्षेत्रको आर्थिक विकास र व्यापारलाई बढावा दिनका लागि छिमेकी देशसँग भारतीय रेल्वेले ढाकाबाबाट इस्तान्बुल बंगलादेश, भूटान, भारत, नेपाल, पाकिस्तान, अफगानिस्तान, इरान र टर्की बीच ट्रान्स कन्टेनर माल गाडी चलाउने योजना पनि अघि सारिएको छ ।
सुरेश प्रभुले मूख्यरुपमा काठमाडौँबाट दिल्ली र कोलकाताका लागि रेल सञ्जालको विशेष महत्वका साथ वकालत गरेका छन् । यसका साथै उनले आश्वस्त पार्दै अगाडि भने, ‘हामी तपाईँहरुलाई विश्वस्त पार्न चहान्छौँ, काठमाडौँबाट दिल्ली र कोलकातासम्म सिधा रेलसञ्जालले जोडिने छ । श्रीलंकामा हामी ठूलो लगानीका साथ रेल क्षेत्रका लागि काम गरिरहेका छौँ । पाकिस्तानसँग पहिलेदेखि नै हाम्रो रेल सम्पर्क रहेको छ ।’
यो दुई दिने कार्यक्रमले ढाकाबाट टर्कीको इस्तान्बुललाई रेलको माध्यमबाट जोड्ने बाटो खोल्नेछ । प्रभुले ढाकासँग पहिले नै भारतीय रेल्वेको सञ्जाल रहेको बताउँदै यही बाटोबाट इस्तानबुलसम्म पुग्नका लागि चाँडै नै एक अन्तरराष्ट्रिय सम्झौता गरिने पनि प्रष्ट पारे ।
एक ठूलो महाद्विप भएकाले भारतले कसरी एसियाका सबै देशको विकासमा योगदान दिनेछ भन्ने कुरा चाहिँ चाखलाग्दो विषय बनेको छ ।







