नेपालसँग जोडिएको भारतको उत्तरप्रदेश राज्यमा सत्तारुढ दल भारतीय जनता पार्टीले आश्चर्यजनक जित निकालेपछि त्यसको तरङ्ग चीनसम्म पुगेको छ।

युपीमा भाजपाले जित निकालेपछि त्यसको चर्चा बेइजिङमा पनि भएको हो । युपीमा भारतको विजयलाई चीनले प्रधानमन्त्री नरेन्द्र मोदीको शक्ति बढ्दै गएको रुपमा लिएको छ ।
मोदीको बढ्दो शक्तिलाई लिएर चिनियाँ कम्युनिष्ट पार्टी र सरकारको पत्रिका ग्लोबल टाइम्सले एउटा आलेख प्रकाशित गर्दै मोदीलाई रोक्न नसके त्यसले चीनलाई असर गर्ने उल्लेख गरेको छ ।
चीनको सत्तारुढ कम्यूनिस्ट पार्टी अफ चीनको पत्रिका ग्लोबल टाइम्सले लेखेको छ, ‘युपीमा भाजपाले जितेपछि चीन र भारतको सम्बन्धमा अझ तनाव बढ्नेछ । युपीमा भाजपाको जितले भारतको विकासको गतिले अझ तीब्रता पाउने छ ।’
ग्लोबल टाइम्सले युपीको जितपछि मोदीको ‘हार्डलाइनर’ छबि अझै बलियो हुने पनि उल्लेख गरेको छ । ‘युपीमा भाजपाको जित भारत अब चीन जस्ता देशसँग सम्झौता नगर्ने रणनीति अघि बढाउन सक्छ’, पत्रिकाले उल्लेख गरेको छ ।
यस आलेखमा मोदी सरकारमा आएपछि भारतको घरेलु र कुटनीतिमा पनि तीब्र परिवर्तन आएको उल्लेख गरिएको छ। ‘पहिले भारत विश्वस्तरमा रक्षात्मक व्यवहार गर्थ्यो भने मोदी सरकारमा आएपछि आक्रामक व्यवहार देखाउन थालेको छ।’
यतिमात्रै होइन चिनियाँ सञ्चारमाध्यमले अघिल्लो लोकसभा चुनावमा पनि भाजपनाले नै जित निकाल्ने आकलन गरेका छन् । आफ्नो लेखमा ग्लोबल टाइम्सले लेखेको छ, ‘जुन तरिकाबाट भाजपा चुनावमा लगातार जित निकालिरहेको छ । त्यसलाई हेर्दा सन् २०१९ मा हुने लोकसभामा पनि उसैको जित पक्का देखिन्छ ।’
आफ्नो देशसँगको सीमा विवादलाई लिएर पत्रिकाले मोदी बलियो हुँदै जाँदा तत्काल कुनै पनि किसिमको सम्झौता हुने अवस्था पनि नरेहको जनाएको छ । मोदीले दसैँ, तिहार जस्ता ठूला चाड चिनियाँ सीमामा रहेका भारतीय सैनिकहरुसँग मनाएर आफ्नो सीमा नीतिमा अझै कडाई गर्ने सन्देश दिएको पनि पत्रिकाकले उल्लेख गरेको छ ।







