प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चिनियाँ नेताहरुसँग भेट हुने निश्चितता नभएपनि चीन भ्रमण भने पक्का भएको छ । उनी यही चैत्र १० गते चीन जानेछन् ।

राष्ट्रपति सि जिन पिङ र प्रधानमन्त्री लि खछायङसँग भेटको कुनै टुंगो नभएपनि प्रचण्ड चीनमा हुने बोआओ फोरममा भाग लिएर मात्र फर्कने छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका कयौं दुरगामी सम्झौताबारे नेपालबाट प्रचण्डले कुनै गंभीर गृहकार्य नगरेपछि यसपटकको चीन भ्रमण पनि औपचारिक मात्र हुने भएको छ ।
पछिल्लो समय प्रधानमन्त्री दाहाल चीनसँगको सम्बन्ध सुधार्ने प्रयासमा छन् । बोआओ फोरममा सहभागि हुने अवसर पारेर राष्ट्रपति जिनपिङसँग भेटको तारतम्य मिलाउन दाहालले पहल अघि बढाइरहेका छन् ।
तर, भेटवार्ता भने टुंगो लागेको छैन । आगामी मे महिनामा हुने ओबीओआरको समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा नजाने योजना बनाइरहेकाले पनि दाहाल अहिले चीन भ्रमण गरेर राष्ट्रपतिसँग भेट्ने तारतम्य मिलाउन लागेका हुन् । उक्त कार्यक्रममा सहभागि भए नेपालले ओबीओआरमा हस्ताक्षर गर्नु पर्ने भएकाले त्यसलाई टार्ने दाहालको योजना छ ।
सम्झौताको विषयमा तयारी राम्रो नभएको अवस्थामा सरकारले यही अवसरलाई उपयोग गर्दै राजनीतिक वार्तामा मात्र सीमित राखेर छलफलमा भ्रमण सीमित हुन सक्ने अधिकारीहरूको धारणा छ ।







