विश्वचर्चित प्रविधि कम्पनी माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्स लगातार चौथो पटक विश्वकै धनी व्यक्ति बन्न सफल भएका छन् ।

बिल गेट्सको सम्पत्ति ८६ अर्ब डलर रहकेो बताइएको छ । उनीपछि दोस्रो नम्बरमा रहेका छन् बर्कसायर ह्याथवेका प्रमुख वारेन बफेट। उनको सम्पत्ति ७५.६ अर्ब डलर रहेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प २२० स्थान तल झर्दै ५४४ औँ स्थानमा पुगेका छन् । ट्रम्प अर्बपतिहरुको सुचीबाट धेरै तल झरेका हुुन् । उनको सम्पत्ति ३.५ अर्ब डलर रहेको फोर्ब्सले जनाएको छ ।
शीर्ष १० अन्तरगत तेस्रो नम्बरमा अमेजनका मालिक बेजन्स रहेका छन् भने फेसबुककका मालिक मार्क जुकरबर्ग पाँचौँ र ओरेकलका सह-संस्थापक ल्यारी एलिसन सातौँ स्थानमा रहेका छन् । फोर्ब्सको यो सूचीमा अमेरिकाका ५६५ जना, चीनका ३१९ जना, जर्मनीका ११४ जना र भारतका १०१ जना अर्बपति सामेल छन् ।
यो सूची सार्वजनिक गर्दै फोर्ब्सले भनेको छ, ‘पत्रिकाको सूची प्रकाशित गर्न थालेको ३१ औँ सालयताकै सबैभन्दा धेरै यो साल अर्बपतिहरु थपिएका छन् । अघिल्लो साल भन्दा यो साल अर्बपतिको संख्या १३ प्रतिशत बढेर २०४३ जना पुगेको छ ।
फोर्ब्सको यस सूचीमा नर्वेका २० वर्षीय उद्योगपति एलेक्जेन्ड्रा एन्जरसनले सबैभन्दा कम उमेरमा अर्बपतिका रुपमा स्थान बनाएका छन् अर्कातिर २१ वर्षीया क्याथरिन दोस्रो सबैभन्दा कम उमेरकी अर्बपति बनेकी छन् । दुबैजनाको अलग अलग सम्पत्ति करिब १.२ अर्ब अमेरिकी डलर अनुमान गरिएको छ ।
डोनाल्ड ट्रम्प सूचीमा तल झर्नुमा म्यानहट्टन रियल एस्टेट मार्केटमा आएको मन्दीलाई जिम्मेवार ठानिएको छ । पत्रिकाका अनुसार ट्रम्पले ४० प्रतिशत भन्दा धेरै आम्दानी फर्च्यून ट्रम्प टावर यस नजिक रहेका करिब ८ वटा गगनचुम्बी महलबाट लिने गरेका छन् ।







