चीनको महत्वाकांक्षी ‘वान बेल्ट वान रोड’ परियोजनामा नेपालले ठोस निर्णय दिन नसक्दा भोलिबाट हुन लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका क्रममा चीनसँग कुनै सम्झौता नहुने भएको छ ।

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीको भ्रमणका क्रममा चीनसँग कुनै सम्झौता नहुने जानकारी दिएका छन् ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा सरकारले उत्तरी छिमेकी चीनसँग चारवटा महत्वपूर्ण सम्झौताको तयारी थालेको थियो । तर, परराष्ट्र मन्त्री महतले चीनकै कारण ती सबै सम्झौतामा हस्ताक्षर नहुने बताएका हुन् ।
‘वान बेल्ट वान रोड’ परियोजनाबारेमा चीनले खोजेको समर्थनमा नेपालले ठोस धारणा दिन नसक्दा प्रधानमन्त्रीको भ्रमणमा औपचारिकतामा मात्रै सीमित हुने भएको हो ।
पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री महतले ‘वान बेल्ट वान रोड’ परियोजनाबारे दुई देशबीच कुराकानी भइरहेको बताए । तर, यो परियोजनामा नेपालको तर्फबाट समर्थन गर्नका लागि अध्ययन भइरहेको उनको भनाई थियो ।
पुरै एसिया र युरोपलाई समेत जोड्ने चीनको बहुचर्चित ‘वान बेल्ट वान रोड’ परियोजनालाई लिएर भारतले आपत्ति जनाउँदै आएको छ । चीनले यसले एसियाको विकासमा कायापलट गर्ने बताइरहँदा भारत भने सशंकित रहने गरेको छ ।







