नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनले वैज्ञानिक समाजवादको सांगठनिक क्षेत्रमा लेनिनपछि आफ्नो पार्टीले नयाँ र थप विचारको विकास गरेको बताएका छन् ।

नेता सुदर्शनले एकीकृत जनक्रान्ति समग्र विचारको संश्लेषित सिद्धान्त भएको र मालेमावादका तीन संघटक अंगहरुमध्ये कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादमा लेनिनपछि अलि व्यवस्थित ढंगले विकास गर्न खोजेको बताएका छन् ।
वैज्ञानिक समाजवादको क्षेत्रमा रहेको सांगठनिक प्रक्रियामा आफ्नो पार्टीले अहिले आवधिक नेतृत्वको प्रणालीमा थप विकास गर्न खोजेको नेता सुदर्शनको भनाई छ ।
एशियन अनलाइन पोर्टलसँग कुरका गर्दै कम्युनिस्ट पार्टीका नेता सुदर्शनले आजको विश्व लेनिनवादी संगठन प्रणालीमा रहेको बताउँदै त्यसमा आफुहरुले अहिले आवधिक नेतृत्व प्रणालीको कुरा गरेर संगठनमा नयाँ विचारको विकास गर्न खोजेको बताए ।
संगठनको क्षेत्रमा तपाइहरुले गर्न खोजेको नयाँ कुरा नै के हो त भन्ने प्रश्नमा नेता सुदर्शनको भनाई छ :
आजको विश्वको सम्पूर्ण संगठनात्मक संरचना लेनिनवादी दृष्टीकोणकै वरिपरि छ । यसमा हामीले थप विकास गर्न खोजेको विषय भनेको आवधिक नेतृत्व प्रणाली हो । क्रान्तिबाट गुज्रिएर आएका समाजवादी सत्ताहरुले आवधिक नेतृत्व प्रणालीलाई स्थापित गर्न सकेनन् र उनीहरुले संरचनागत रुपमा उठेका प्रश्नहरुको सहि जवाफ दिन नसक्नुको कारण पनि त्यहि हो । अर्को कुरा कुनै व्यक्ति कम्युुनिष्ट पार्टीको सदस्य भइसकेपछि ऊ राजनीतिक र विचारधारात्मक रुपमा संगठित हुनु स्वभाविक हो ।
राजनीति र विचारधारात्मक रुपले संगठित नेता वा कार्यकर्तालाई आवधिक नेतृत्व प्रणालीले क्षमता र योग्यताको विकास गराउँदै लिन्छ । क्षमता र योग्यताले लैस पार्टी नेता वा कार्यकर्ता त्यसपछि आफु, आफ्नो संगठन, समाज र विश्वदृष्टीकोणमा समेत विश्वस्त वन्दै जान्छ । यसले एकपछि अर्को क्रमश नेताहरुको पंक्ति तयार पार्छ । अर्कोतिर राजनीति र विचारधारालाई जिम्मेवारीले पनि वोकाउँछ त्यस्तो अवस्थामा समग्र कम्युनिष्ट सँस्कार,सँस्कृति र विधि पद्धतिहरु मजवुत वन्दै जान्छन् । हामीले महाधिवेशनमा यी विषयहरुलाई गंभिरतापूर्वक छलफल र वहस गरेका छौं ।







