संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव तीन दिने भ्रमण सकाएर स्वदेश फर्किएका छन्।

नेपालमा राजनीतिक माहोलले नयाँ मोड लिईरहेको बेला यादव एक्कासी दिल्ली उडेका थिए। नयाँ दिल्लीमा रहँदा उनले भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका शीर्ष नेताहरुसँग भेटवार्ता गरेको स्रोतले जनाएको छ।

संयुत्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनका समेत संयोजक रहेका अध्यक्ष यादवले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावले मुलुकको निकास ननिस्किने ठोकुवा गर्दै आएका छन्।

तर पछिल्लो समय सत्तारुढ दलले सिमांकनबाहेकका अन्य तीन वटा विषयलाई चुनाव अघि नै पारित गराउने तयारी गरेपछि मोर्चाका नेताहरुमा पनि मत बाझिएको थियो। मोर्चाका शीर्ष नेताहरुमै चुनावमा भाग लिने वा नलिने भन्नेबारेमा द्धिविधा देखिएको छ।

मोर्चामा आवद्ध कतिपय दलहरुले चुनावमा भाग लिने भन्दै जिल्लामा धमाधम दल दर्ता गरिरहेका छन् भने कतिपयले स्थानीय तह कार्यान्यवयनमा अवरोध पुर्याईरहेका छन्।

नयाँ दिल्लीमा रहँदा भारतीय शीर्ष नेताहरुलेपनि यादवलाई चुनावमा जानको लागि जोड दिएका थिए। स्रोतका अनुसार चुनाव हुनुपर्छ भन्ने कुरामा भारत पनि स्पष्ट रुपमा आएको छ। भारतीय नेताहरुले यादवलाई अहिलेको संकट समाधानको लागि मोर्चापनि चुनावा भाग लिनको लागि तयार हुनुपर्ने बताएका थिए।

भारतीय नेताहरुपनि सिमांकनबाहेकका विषयहरुलाई टुँगो लगाएर पछि सिमांकनको विवाद पनि हल गर्नेगरि अहिले स्थानीय तहको निर्वाचनमा सहभागी हुनुपर्ने देखिएका छन्।

अध्यक्ष यादवले दिल्ली उड्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए। उक्त भेटमा प्रधानमन्त्री दाहालले चुनावमा सहभागी हुनको लागि आग्रह गरेका थिए। तर यादवले पहिला संशोधन प्रस्ताव पारित हुनुपर्ने अडान लिएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार