प्रधानमन्त्री पुष्पकमल दाहालले वान बेल्ट वान रोडमा नेपालले साझेदारी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

साताव्यापी चीन भ्रमणका लागि विहीबार चीन गएका प्रधानमन्त्री दाहालले आज चिनियाँ उपप्रधानमन्त्री झाङ गाओलीसँगको भेटमा वान बेल्ट वान रोडमा नेपालले साझेदारी गर्ने प्रतिवद्धता जनाएका हुन् ।
चीनको विकास र आर्थिक उन्नतिबाट नेपालले फाइदा लिन सक्ने भन्दै उनले नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई संविधान निर्माण मार्फत् संस्थागत गरिएको उल्लेख गरे। प्रधानमन्त्री दाहालले स्थानीय तहको चुनाव पछि संविधान कार्यान्वयन गरेर राजनीतिक स्थायीत्व हासिल गर्ने बाटोमा नेपाल अघि बढेको बताए ।
प्रधानमन्त्रीले रसुवा, काठमाडौं, पोखरा हुँदै लुम्बिनी सम्म रेलवे निर्माण, इनर्जी कनेक्टीभिटी, ट्रान्जिट प्रोटोकल, पूर्वाधार विकास, पेट्रोल भण्डारण, टान्समिसन लाइन, इकोनोमिक जोन सहितका विभिन्न विषयमा दुई पक्षीय सहमति जरुरी रहेको बताएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले तातोपानी नाका तत्काल खोल्न आग्रह गर्दै चीनसँग जोडिएका पूर्व पश्चिमका स्थानमा नाकाहरु संचालनमा ल्याउन समेत आग्रह गरे ।
प्रधानमन्त्रीले नेपालको तर्फबाट विगतमा भएका सन्धी सम्झौता र सहमति कार्यान्वयनको प्रतिवद्धता व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध र आपसी हितका विभिन्न विषयमा स्पष्ट रुपमा नेपालको धारणा प्रस्तुत गरेको उनको सचिवालयले जनाएको छ ।







