नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले कांग्रेस, एमाले र माओवादी केन्द्र सबै शक्ति भ्रष्ट भएको बताएका छन् ।

नयाँ शक्ति पार्टीको जारी हिमाल–पहाड–तराई/मधेश थरुहट राष्ट्रिय अभियानलाई शनिबार बाँकेको कोहलपुरमा सम्बोधन गर्दै उनले अहिले आएर माओवादी केन्द्र कांग्रेस र एमालेभन्दा पनि भ्रष्ट भएको बताए ।
‘अर्बौं भ्रष्टाचार गरेर चुनावी खर्चको जोहो गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । एनसेलको करछली प्रकरणमा ३७ अरब लाभकरबाट उन्मुक्ति दिएर सरकारले इतिहासकै सबैभन्दा ठूलो संस्थागत भ्रष्टाचार गरेको छ,’ उनले भने, ‘भ्रष्टाचारमा पुराना पार्टीहरुलाई पनि उछिन्दै माओवादी केन्द्र अगाडि आइरहेको छ ।’
बाबुरामले एमालेको राष्टवादप्रति तिखो प्रहार गरे । ।
‘बिजुली स्याटलाइटबाट बेच्ने हावादारी कुरा गरेर जनतालाई झुक्याएर महाकाली नदी बेच्नेहरु आज रातारात राष्ट्रवादीको भेष धारण गरेर हिँडिरहेका छन्’, उनले भने, ‘एमालेको राष्ट्रवाद हजार मुसा मारेर बिरालो हज गएको उखान जस्तै हो ।’
बाबुरामले सबै खस आर्यहरुलाई आफूले गाली नगरेको पनि तर्क गरे । ‘जो सत्तामा रहन्छ, सत्ताको दुरुपयोग गरेर अरुलाई उत्पीडन गर्छ त्यो खराब हो’, उनले भने , ‘नेपालमा राणतन्त्र र राजतन्त्रले विभेद ल्याएको हो ।’
उनले सत्ताको भागबण्डका निम्ति चुनावको नाटक गरेको आरोप पनि लगाए । ‘सत्ताको दुरुपयोग गरेर मात्र चुनाव जितिन्छ भन्ने सोचका साथ चुनाव घोषणा गरिएको छ,’ उनले भने, ‘मुख्य दलहरुको दाउ सत्ताको खेल हो । जनता साँढेको जुधाईमा परिरहेका छन्, बरु ठूला पार्टी मिलेर सरकार बनाउन् र चुनाव गरुन् ।’
नयाँ शक्तिले तीनवटै निर्वाचन एकैचोटी गर्न प्रस्ताव गरेको स्मरण गराउँदै उनले नयाँ शक्तिले त्यसैका लागि ६ सूत्रीय समाधानमुखी प्रस्ताव राखेको उल्लेख गरे ।







