प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन सम्बन्धले नयाँ गति र आयाम थपेको बताएका छन् ।

मित्र राष्ट्र चीन भ्रमण सकेर आज नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले चीन भ्रमणका अवरमा भएका उच्चस्तरीय भेटघाट र छलफलबाट आपसी विश्वास र समझदारी थप सुदृढ भएको बताए ।

भ्रमणको मुख्य उद्देश्य दुई मुलुकबीचको उच्चस्तरीय तहमा विश्वासको वातावरण तय गर्नुरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने र देशको समग्र विकासका लागि सहयोग समर्थन जुटाउन भ्रमण सफल भएको बताए ।

उनले चीनको हाइनान प्रान्तमा बोआओ एसिया मञ्चमा आफूले विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका सम्बन्धमा अतिकम विकसित तथा भूपरिवेष्टित साना देशको चासो र अपेक्षा स्पष्ट रुपमा राख्ने अवसर प्राप्त भएको बताए ।

प्रधानमन्त्रीले भने, “यस भ्रमणबाट भौतिक पूर्वाधार, पर्यटन, ऊर्जाका विषयमा थप सहयोग र सहकार्य बढाउने आधारशीला तयार भएको छ । नेपालसँग सिमाना जोडिएको राजनीतिक, आर्थिक, सामाजिक एवम् भौगोलिक तथा संस्कृतिक दृष्टिकोणबाट महत्वपूर्ण तिब्बत स्वशासित क्षेत्रमा सम्बन्धलाई थप विस्तार गर्ने सहमति भएबाट स्थानीय तहमा रहेर काम गर्ने दुवैतर्फका निकायलाई थप समन्वय र सहकार्यमा काम गर्ने आत्मविकासको आधारसमेत तयार भएको छ ।”

उनले भ्रमणमा चीन सरकारले तय गरेको आतिथ्यता र सदाशयताका लागि प्रतिनिधिमण्डलका तर्फबाट चिनियाँ राष्ट्रपति सी चिनफिङ, चीन सरकार र चिनियाँ जनताका साथै सम्बद्ध सबै अधिकारीलाई धन्यवादसमेत दिए ।

नेपालसँग जोडिएको तिब्बतमा भएको भएको छलफलमा स्थानीय तहमा रहेका द्विपक्षीय संयन्त्रको नियमित बैठक गर्नुपर्ने विषयमा विचारको आदानप्रदान भएको प्रधानमन्त्रीले जानकारी दिए ।

राससबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार