चर्चित उद्योगपति सुरज वैद्यले विद्यमान राजनीतिक व्यवस्थाले गर्दा १५ वर्षको दौरानमा विकास र समृद्धि पछि परेको बताएका छन् ।

वैद्यले यो १५ वर्षको बीचमा दलहरुको सत्ता स्वार्थ र झिनाझप्टीका कारण नेपालका विकास हुन नसकेको बताए । उनले १५ वर्षअघि नेपालबाट भारतीयहरुले सामान लिने गरेकोमा अहिले त्यो ठीक उल्टो भएको बताएका छन् ।

नेकपा एमालेले काठमाडौंमा गरेको एक कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका वैद्यले अहिलेको राजनीतिक व्यवस्था रहेसम्म नेतालाई मन्त्री मात्र बनाउने तर देशमा केही नहुने बताए ।

पढौं उनले बोलेका भनाईहरू –

म एक व्यवसायी भएकोले करिव १५ बर्ष अघिको व्यवसायको अवस्थालाई सम्झन्छु । त्यसबेला नेपालको आर्थिक बृद्धिदर ७ प्रतिशतको हाराहारी हाम्रै आँखाले देख्यौं अनुभव गर्यौं । गएको १५ वर्षमा दलहरुले राजनीतिक समस्यालाई  अघि सारेर त्यसैलाई प्राथमिकता दिए ।

‘रिजल्ट’ के भयो भने व्यापार बिग्रियो । १५ बर्ष अघि भारतीय जनता नेपालका बजारमा सामान किन्न आउँथे, अहिले हामी जान्छौं । ठीक उल्टो छ ‘बोर्डर’ ट्रेड बिगे्रको छ । यो १५ वर्षमा राजनीतिक समस्या हावी हुँदा विकास पछाडि पर्यो । विकास र समृद्धिको आशामा एक पुस्ता गुम्यो, अर्को पनि गुमाँउदैछौं । 

उद्योग वाणिज्य महासंघको नेतृत्वमा हुँदाको अनुभवको आधारमा म के देख्छु भने अहिले हामीले जुन संविधान बनायौं त्यसले देशलाई बहुमतको सरकार दिन सक्दैन । फलस्वरुप ‘हर्स ट्रेडिङ’ हुन्छ देश बन्दैन । नेता, मन्त्री बन्लान् तर समस्या जहाँको त्यहिँ रहन्छ । 

औद्योगिक क्षेत्रमा अहिले लोडसेडिङ कम छ , हामी खुुसी छौं । तर हिजो पेट्रोलियम खरिदमा खर्च हुने पैसा अहिले ऊर्जा खरिदमा त्यतै गइरहेको छ । सीमापार प्रसारण  लाइन बनेको छ । त्यो केका लागि ? विद्युत खरिद गर्न वा बेच्न केका लागि बनाइएको हो प्रसारण लाइन ? 

मैले कतै पढेको थिएँ – पानी तेस्रो विश्वयुद्धको कारण हुनेछ । भारतले आफ्नो पानी व्यवस्थापन योजना बनाइसक्यो । नेपाल अझै चुपचाप छ । हामीले हाम्रो दुवै छिमेकमा रहेका भारत र चीन  जस्ता विशाल आर्थिक शक्तिको दीर्घकालीन विकास र आर्थिक एजेण्डा बुझेर त्यसै अनुरुप आफूलाई अघि बढाउनु आवश्यक छ । नत्र विकास रोकिन्छ । अहिले विकास अवरुद्ध भएकोले नै पूँजी र वौद्धिकता दुवैको पलायन भैरहेको हो ।

राजनीति र विकास कसरी जोड्ने भन्ने उदाहरण श्रीलंकाले दिएको छ ।  दशकौं गृहयुद्ध हँदा पनि श्रीलंकाले विकासको मुद्दा छोडेन । अहिले उसको प्रगति आर्कषक छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार