जनयुद्धकालमा प्रचण्डको सुरक्षा टीममा रहेका पूर्व जनमुक्ति सेनाका एक कमाण्डरसहित आधा दर्जन माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले सो पार्टी परित्याग गरेका छन् ।

आज बुधवार उनीहरुले एक विज्ञेप्ती जारी गरेर नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेको घोषणा समेत गरेका छन् ।
गोर्खा याक्सन मार्शल आर्टका अन्तराष्ट्रिय महासचिव समेत रहेका सोम राई सुदर्शनसहित आधा दर्जन आज कम्युनिस्ट प ार्टीमा प्रवेश गरेका हुन् ।
सोम राईले नेपाल कम्युनिस्ट पार्टीको एकीकृत जनक्रान्तिको कार्यदिशाले मात्र नेपालका दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने भएकाले आफूहरु प्रवेश गरेको बताएका छन् ।
‘प्रचण्ड–बाबुरामले दिएको धाका र गद्दारीका कारण माओवादी पार्टीमा देखा परेको विभाजन र विघटनको क्रममा मातृका यादवको नेतृत्वमा विद्रोह गरी धनकुटा हुँदै पूर्वी नेपालमा माओवादी पार्टीको पुर्नगठन अभियानमै रहँदा मात्रिका यादव समेत विचलन देखापरी पार्टीभित्र आवश्यक छलफलनै नगरी प्रचण्डको आत्मसमर्पणवादी धारमा पलायन भएपछि हामी स्वतन्त्र रहयौँ’ उनीहरुले जारी गरेको विज्ञेप्तीमा भनिएको छ ।
उनीहरूद्धारा जारी थप विज्ञेप्तीमा भनिएको छ –
‘कमरेड विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत नेपालमा विद्यमान दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने आजको उत्तम विकल्प रहेको निष्कर्षसहति हामी आजैको मितिदेखि नेपाल कम्युनिस्ट पार्टीमा ध्रुवीकृत भएका छौँ’ ।







