युद्धविराम र शान्तिवार्तामा रहेका फिलिपिन्सका माओवादीहरुले जनयुद्धलाई नयाँ उचाइँमा उठाउने लक्ष्यसहित १० बुँदे कार्यक्रम प्रक्षेपण गरेर पार्टीको दोस्रो महाधिवेशन सम्पन्न गरेका छन् ।

सन् २०१६ को २४ अक्टोबर देखि ७ नोभेम्वरसम्म फिलिपिन्सको माओवादी आधार क्षेत्रमा चलेको दोस्रो महधिवेशनका निर्णयलाई हालै पार्टी केन्द्रीय समितिले लामो विज्ञेप्ती जारी गरेको छ ।
सन् १९६८ मा फिलिपिन्स कम्युनिस्ट पार्टी स्थापना गरेका फिलिपिन्सका माओवादीहरुले ४८ औं पार्टी स्थापना दिवस पनि मनाएको छ ।
दीर्घकालीन जनयुद्धको बाटोमा अघि बढ्न फिलिपिन्स कम्युनिस्ट पार्टीले आफ्ना कार्यकर्तालाई अपिल गरेको छ । फिलिपिन्सको समाज अझै पनि अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थामा रहेको विश्लेषण गर्दै फिलिपिन्स माओवादीले जनयुद्धको बाटो अपरिहार्य रहेको बताएको छ ।
सन् २०१६ को अप्रिलदेखि युद्धविराम र शान्तिवार्तामा रहेका फिलिपिन्सका माओवादीहरुले दश बुँदे कार्यक्रमको घोषणा गर्दै छापामार युद्धको नीतिलाई व्यापक र विस्तृत बनाएर जानु पर्ने उल्लेख गरेका छन् ।
सशस्त्र सेना निर्माणका लागि नयाँ भर्ति अभियानलाई तीव्रतामा लैजानु पर्ने भन्दै फिलिपिन्स माओवादीले नयाँ युवा र मजदुर वर्गलाई विशेष जोड दिनु पर्ने बताएको छ । छापामार मोर्चालाई थप विस्तार र बलियो बनाउँदै छापामार युद्धलाई थप विकास गर्नुपर्ने पार्टीले जोड गरेको छ ।
जनसेना निर्माण र जनतासँग जोडिएर जनसेनालाई राजनीतिक रुपले थप दीक्षित गर्नुपर्ने पार्टीले पार्टीको जोड छ ।
१० बुँदे कार्यक्रमको अन्त्यमा पार्टीले युद्धविराम र वार्तामा रहेको स्थितिलाई थप संयमित र धैर्य भएर अगाडि बढाउन जोड गरेको छ ।







