चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नै विशेषतामा चिनियाँ समाजवादको अभ्यास गरिरहेको धारणा चिनियाँ प्रतिनिधिहरुले राखेका छन् ।

काठमाडाैंमा आयोजित अल्टरनेटिभ रिसर्च सोसाइटी (नार्स) र चाइना रिफर्म फोरम (सिआरएप्m) को संयुक्त आयोजनामा एक विचार गोष्ठीमा चिनियाँ प्रतिनिधीहरुले यस्तो कुरा बताएका हुन् ।
चिनियाँ विशिष्टताको समाजवाद (सोसियलिज्म विथ चाइनिज क्यारेक्टरिस्टक्स) र ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ दुई शीर्षकमा उक्त विचार गोष्ठी पहिलो र दोस्रो सेसन गरी सम्पन्न गरिएको थियो । पहिलो सेसन अन्तर्गतको चिनियाँ विशिष्टताको समाजवाद शीर्षक गोष्ठीमा मिस वाङ जिङले चिनियाँ विशिष्टताको समाजवादमाथि प्रकाश पार्दै चिनियाँ कम्युनिष्ट पार्टीले चीनको विशिष्टतामा माक्र्सवादको व्यवहारिक प्रयोग गरिरहेको कुरामा जोड दिइन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा सहभागीहरु
चीनले नब्बे वर्षको लामो अनुभवबाट धेरै पाठहरु सिकेको र त्यसलाई व्यवहारिक रुपमा प्रयोग गरिरहेको भन्दै उनले चीनमा मजदूर वर्गको पार्टी रहेको र त्यसले माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ विचारधारामा आधारित समाजवादी कार्यदिशा अवलम्वन गर्दै अघि बढिरहेको बताइन् ।
उनले माक्र्सवादका आधारभूत सिद्धान्तहरु छाडेर कोही पनि समाजवादको दिशामा अघि बढ्न नसक्ने र चीनले पनि त्यस्ता विचारविहीन कुरामा विश्वास नै नराख्ने तर्कमा जोड दिइन् । चिनियाँ समाजवाद चिनियाँ विशिष्टतामा आजको माक्र्सवादको प्रयोग हो भन्दै मिस वाङ जिङले वर्गीय पक्षधरता, वैज्ञानिक समाजवाद, मजदुर वर्ग र समानताको सिद्धान्त जस्ता कुराहरुलाई चीनमा राम्रो गरी प्रयोग गरिएको बताइन् ।
उनले चिनियाँ कम्युनिष्ट पार्टीले माक्र्सवादी विचार त्यागेर एकातिर कम्युनिष्ट पार्टीको सत्यानास र अर्कोतिर देशकै सत्यानास पार्न चाहदैन किनकि पूर्व रुसमा कम्युनिष्ट पार्टीको अन्त्य र सोभियत सङ्घको बिघटनबाट आफूहरुले गम्भीर शिक्षा लिएको कुरामा समेत जोड् दिइन् ।







