नेपाल कम्युनिस्ट पार्टीले यो कथित स्थानीय निर्वाचनमा उम्मेदवार नबन्न र भाग नलिन सबैमा अपिल गरेको छ ।
कम्युनिस्ट पार्टीको जनकपुर व्युरोले यस्तो निर्णय गरेको हो । हालै बसेको व्युरोको बैठकले कुनै पनि व्यक्तिलाई उम्मेदवार बन्न, कथित निर्वाचनमा भाग नलिन अपिल गरेको छ ।
ब्युरो इन्चार्ज सन्देशले जारी गरेको अपिलमा जनयुद्धको बेला र त्यसपछि कब्जा गरिएका सामन्तका जमिनलाई पुन जनताको हातमा ल्याउन पार्टीले पहल गर्ने बताएका छन् ।
जनकपुर व्युरो इन्चार्ज सन्देशद्धारी जारी विज्ञेप्तीको पूरा पाठ :

१. हालै सरकारले घोषणा गरेको कथित निर्वाचन जनताको मुक्तिको साधन नभई दलाल पुँजीवादी संसदीय व्यवस्थाको रक्षाको औजार मात्रै भएकोले यस चुनावलाई हाम्रो पार्टी शसक्त रुपमा खारेज गर्ने निर्णय गरिसकेको छ । जसअन्तरगत सप्तरी,सिराह, धनुषा, महोत्तरी। सर्लाही र सिन्धुलीमा पनि चुनावलाई खारेज गरिने छ । आम जनसमुदायसँग मिलेर खारेज गर्न लागिएको कथित निर्वाचनमा कोही पनि कर्मचारीहरुले निर्वाचन प्रयोजनमा भाग नलिन, कोही पनि नागरिक उम्मेदवार नहुन र मतदानको कुनै प्रक्रियामा अगाडि नबढाउन सम्बन्धित सवै पक्षलाई ध्यानकर्षण गरिन्छ ।
२. जनयुद्धको क्रममा साथै त्यसअघि वा पछि पनि सामन्त जमिन्दारबाट कब्जा गरिएका सबै जमिनहरु अन्ततः जनताकै हुन् । त्यस प्रकारको जमिनलाई पुनः सामन्त वा जमिन्दारलाई नै फिर्ता गर्ने, बेचबिखन गर्ने, दलालहरुले कमिशनमा बेच्ने वा कुनै व्यक्तिले सामन्तसँग मिली आफ्नो बनाउने जस्ता कुनै पनि कार्य छुट हुन सक्दैन । सहिदका रगतको जगमा कब्जा गरिएका सबै जमिनमाथिका सबै क्रियाकलापहरु १५ दिनभित्र छोड्न सम्बन्धित सबै पक्षलाई अनुरोध गर्दछौँ । अन्यथा अटेरी गरेमा जनताद्वारा हुने प्रतिरोधको परिणाम सम्बन्धित पक्षकै हुने जानकारी गर्दछौँ ।
३. जनकपुर ब्युराको क्षेत्रभित्र सुकुम्बासी उठाउने कार्यका सबै योजना तत्काल खारेज गर्न र उठाइएका सुकुम्बासीलाई तत्काल बास, गाँसको व्यवस्था मिलाउन जोडदार माग गर्दछ । सर्लाहीलगायतका जिल्लामा सुकुम्बासीलाई उठाउन सरकारले गरेका हरकत बन्द गर्न माग गर्दछौँ ।
४. अञ्चल, जिल्ला तथा इलाका स्तरका सबै सरकारी तथा गैरसरकारी संघ संस्था वा निकायमा भएका भ्रष्टाचार, कमिसनखोर, अनियमितता तथा बद्मासी तत्काल रोक्न सम्बन्धित पक्षसँग अपील गर्दछौँ । अन्यथा त्यस्ता क्रियाकलापको हाम्रो पार्टी कडा प्रतिरोध गर्ने पनि यसै वक्तब्यमार्फत जानकारी गर्दछौँ ।







