नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले आफुमाथि गंभीर षड्यन्त्र गरेको बताएका छन् ।

उनले निरंकुशता लाद्ने गरी आफुलाई माइनस गर्न प्रचण्डले गुपचुपमा कानुन ल्याएको दावी गरे । पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै स्थानीय तहको कानुन बनाउदा रातारात राजपत्रमा प्रकाशित गरेको बताए । उनले दलीय हैसियतमा चुनाव चिन्ह नदिएसम्म स्थानीय तहको चुनाव हुन नदिने दावी गरे ।
‘पूराना राजनीतिक शक्तिहरुले विभिन्न हतकण्ठा प्रयोग गरेर नयाँ शक्तिलाई आउन नदिने षड्यन्त्र भइरहेको छ’ उनले भने- ‘प्रचण्ड कुर्सीमा बस्ने कमिसन र भ्रष्टाचारमा रमाउने बाहेक केही गर्न सक्दैनन, म माथि षड्यन्त्र भइरहेको छ ।’
प्रमुख तीन दल बाहेक अरुलाई चुनावमा नलैजाने षड्यन्त्र स्वरुप निरंकुश निर्णय गरेको बताए । यो सरकार जति भ्रष्टचार सरकार अहिलेसम्म आफुले नदेखेको आरोप लगाए ।
‘यो ऐनमार्फत नयाँ राजनीतिक शक्तिलाई चुनावी प्रतिपर्धाबाट रोक्ने काम भएको छ । प्रचण्डले किन गरे त्यस्तो उनलाई सोध्नु होला । ’ उनले भने ।
संसदमा प्रतिनिधित्व नगरेका दललाई निर्वाचन पार्टीको निर्वाचन चिन्ह नदिने भएपछि उनले चुनावमा भाग लिनुको कुनै औचित्य नभएको बताए । कुनै बेलाका आफ्ना सहयोद्धा पुष्पकमल दाहाल सरकारलाई भ्रष्ट र निरंकुश भएको भट्टराईले आरोप लगाएका छन् ।
उनले भने, “भ्रष्ट र निरंकुश प्रचण्ड सरकारका विरुद्ध संयुक्त आन्दोलन जारी रहन्छ हेर्दै जानुहोला जनता नै सडकमा आउनेछन् ।’







