तिब्बती धर्मगुरु दलाई लामाको अरुणाचल प्रदेशको भ्रमणको चीनले कडा शब्दमा निन्दा गरेको छ ।

चीनले भनेको छ, ‘भारतले दलाईको यात्रा अनुमति दिनु हुँदैनथियो । यसबाट भारतलाई कुनै फाइदा हुनेवाला छैन ।’ समाचार एजेन्सीहरुका अनुसार चीनले अगाडि भनेको छ, ‘तिब्बती धर्मगुरुलाई भारत-चीन सीमामा रहेको विवादित भूभागको यात्रा गर्न दिनाले दुबै देशको सम्बन्धमा गहिरो असर पार्नेछ ।’

तर पनि भारतले भने दलाईको यो यात्रालाई विशुद्ध धार्मिक यात्राको संज्ञा दिएको छ । यता गृह राज्यमन्त्री किरण रिजिजुले ट्विट गर्दै भनेका छन्, “भारत एक धर्मनिरपेक्ष देश हो र धार्मिक नेतामाथि प्रतिबन्ध लगाउँदैन । म चीनसँग दलाई लामाको अरुणाचल यात्रालाई राजनीतिक रूपमा नलिन आग्रह गर्छु ।’

उनले अर्को ट्विटमा भनेका छन्, “अरुणाचल प्रदेश विवादित इलाका होइन । अरुणाचल प्रदेशमा जनता शान्ति प्रेमी भारतीय हुन् जो मित्रतापूर्ण सम्बन्ध चहान्छन् ।” बुधवार दलाई लामाको अरुणाचल प्रदेशको एक साता लामो यात्रा शुरू भएको छ । पूर्वी हिमालयमा अवस्थित यस इलाकालाई चीनले ‘दक्षिणी तिब्बत’ का रुपमा आफ्नो दाबी गर्दै आएको छ ।

चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनिईङ्गले पत्रकारसँग भनिन्, “दलाईको यात्राबारे चीनले भारतसँग कडा आपत्ति जनाएको छ । चीनका चासो र चिन्तालाई नजरअन्दाज गर्दै भारतले यस यात्राको व्यवस्था गरेपछि भारत चीन हित र दुवै देशको सम्बन्धमा गहिरो चोट पुर्‍याएको छ ।’

हुआ चुनिइङ्गले भनिन्, “हामी दलाई लामाको प्रयोग गरेर चीनविरोधी गतिविधि तत्काल बन्द गर्न भारतसँग आग्रह गर्छौँ ।’ उता, बोमडिला पुगेका दलाई लामाले पत्रकारसँग भने, “म प्राचीन भारतका विचारको सन्देशवाहक हुँ । म जहाँ जहाँ जान्छु, त्यहाँ अहिंसा, धार्मिक शान्ति र धर्मनिरपेक्षताको कुरा गर्छु ।”

दलाई लामाले चीनको आरोपको जवाफमा भनेका छन्, “भारतले कहिले पनि मलाई चीनविरुद्ध प्रयोग गरेको छैन ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार