विश्वका शक्तिशाली दुई देशका शीर्ष नेताहरुका बीचमा पहिलो पटक हुन लागेको भेटबार्तालाई सर्वाधिक महत्वका साथ हेरिएको छ ।

उनीहरु बीच यसै हप्ता अमेरिकाको फ्लोरिडास्थित ट्रम्पको सुविधासम्पन्न रिसोर्टमा भेटवार्ता गर्ने तय भएको छ । उनीहरुले तय गरेको पहिलो एजेन्डा ‘उत्तर कोरिया’ रहेको छ । उनहरु बीचमा भेटवार्ता हुने तयारी भइरहेका बेला बुधबार मात्रै पनि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको छ ।
उत्तर कोरियाले यसरी बेला बेलामा क्षेप्यास्त्र परीक्षण गर्नु अमेरिका र चीन दुवैका लागि ठूलो सुरक्षा चुनौती हो । उत्तर कोरियाको रासायनिक हतियार दुवै देशले विश्वकै लागि टाउको दुखाइको विषय भएको ठान्ने गरेका छन् ।
‘व्यापार’ उनीहरुको दोस्रो प्राथमिकताको विषय हो । राष्ट्रपति निर्वाचनका बेला ट्रम्पले चीनसँगको अपारदर्शी व्यापारलाई व्यवस्थित र पारदर्शी बनाउने दाबी गरेका थिए । लगानी र व्यापार आदान-–प्रदानमा दुवै देशले जोड दिने भएका छन् । चीन र अमेरिकाका लागि ‘ताइवान’ पनि अर्को महत्वपूर्ण चासोको विषय बन्दै आएको छ । चीन र ताइवानको सम्बन्धलाई लिएर ट्रम्पले सीसँग छलफल गर्ने भएका छन् । चीन र ताइवानको सम्बन्ध बेला बेलामा नराम्रोसँग चिसिने गरेको छ ।
चीन र अमेरिकाको मत बाझिदै आएको अर्को विषय हो ‘दक्षिणी चिनियाँ समुद्र’। दक्षिणी चिनियाँ समुद्रलाई चीनले आफ्नो दाबी गर्दै आउने गरेको छ भने अमेरिकाले त्यसको खरो आलोचना गर्ने गरेको छ । यो फरक मतका विषयमा पनि उनीहरु बीच यस पटक छलफल हुने एजेन्डामा राखिएको छ ।
चीन र अमेरिकाका बीचमा छलफल हुने पाँचौँ विषयका रुपमा ‘मानवअधिकार’ लाई राखिएको छ । चीन र अमेरिकाको लामो समयदेखिको दुईपक्षीय द्वन्द्व हुने विषय मानवअधिकार पनि हो







