नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले भारतीय माओवादीहरुले आफ्नो आन्दोलनलाई दिल्ली र मुम्बईका शहरमा विस्तार गर्ने ढंगले नयाँ रणनीतिको विकास गर्नु पर्ने सुझाव दिएका छन् ।

कम्युनिस्ट पार्टीको विशेष उपत्यका व्युरोको मुखपत्र हाम्रो संश्लेषणलाई लामो अन्तवार्ता दिने क्रममा महासचिव विप्लवले भारतमा जहाँ ठूल्ठूला जनघनत्व भएको शहरी इलाकालाई नसमेटिएको क्रान्तिले पूर्णता नपाउने बताएका छन् ।

भारतमा नक्सबारी आन्दोलनको ५० औं वर्ष प्रवेशको अवसरमा महासचिव विप्लवले भारतीय माओवादी नेताहरुलाई आजको विश्वको बदलिदो राजनीतिक, आर्थिक, सामाजिक र विज्ञान तथा सूचना प्रविधिमा आएको पछिल्लो परिवर्तनलाई आत्मसात गरेर नयाँ कार्यक्रम विकास गर्न सुझाव दिएका छन् ।

दिल्ली, मुम्बई, कोलकता र लखनउजस्ता शहरहरुमा क्रान्तिकारी आन्दोलन विस्तार गरे मात्र भारतीय क्रान्तिकारीहरुले जित हासिल गर्न सक्ने महासचिव विप्लवले जोड दिएका छन् ।

केही समयअघि भारतीय माओवादी पार्टीका केन्द्रीय सदस्य गणेशको पछिल्लो अन्तरवार्तामा नयाँ युवा जेनेरेशनलाई पार्टीमा भर्ति गरेर जाने भन्ने भनाई सकारात्म भएको महासचिव विप्लवको भनाई छ ।

महासचिव विप्लवसँग पार्टी उपत्यका व्युरोको मुखपत्र हाम्रो संश्लेषणले गरेको अन्तरवार्ताको छोटो अंश ः

भारतमा लामो समयदेखि सशस्त्र क्रान्ति भइरहेको छ, त्यो क्रान्तिलाई तपाई कसरी हेर्नुहुन्छ ? जहाँ भारतमा क्रान्तिकारी कार्यक्रम र योजना विकास गर्न नसकेको हो या के देखिन्छ ?

भारतमा चलिरहेको क्रान्ति महान् क्रान्ति हो । भारतीय जनताको मुक्ति र विश्व क्रान्तिको निकै महत्वपूर्ण कुची त्यसमा छ । परन्तु क्रान्तिकारी कमरेडहरुले आफ्नो कार्यक्रम र संघर्षको प्रकृतिबारे अझै वस्तुवादी प्रकारले सोच्नु पर्छ । रिथिङ्क गर्ने भन्नाले गल्ती भयो भन्न खोजिएको होइन । जनयुद्ध लड्दा सही छ । तर बम्बई, दिल्ली, लखनउ र कलकताहरुलाई नसमेटिएको क्रान्तिले पूर्णता पाउने देखिदैन । त्यसलाई जोडने गरी सोच्नु पर्छ ।

पछिल्लो समयमा भारतका एक केन्द्रीय सदस्यले अहिले आफुहरु भारतका पछिल्ला ब्रिलेन्ट युवाहरुलाई पार्टीमा भर्ति गर्ने र अब नयाँ ढंगले सोच्न थालेको बताएका थिए, त्यसलाई तपाई कसरी लिनु भएको छ ?

त्यो गर्नैपर्छ । मैले उहाँहरुलाई भन्ने कुरा के छ भने नयाँ नीतिहरु बनाइयो भने नयाँ जेनेरेशनलाई समेट्न सकिन्छ । मान्छेहरु निकै अग्रगामी र शिक्षित भएका छन् । यी मान्छेहरुलाई आफुतिर तान्न पोलिसीमा डेभलप गर्नु पर्यो । युवाहरुलाई आकर्षित र आउने लाइनको विकास गर्नु पर्यो । शहरका जनतालाई पनि ठीकै हो भन्ने कार्यक्रम ल्याउनु पर्यो । युरोप र अमेरिकामा पनि त्यस्तो कार्यक्रम र योजना निर्माणमा जोड गर्नु पर्यो भन्ने हाम्रो कुरा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार