बंगलादेशले भारतको भूमि  हुँदै नेपाल तथा भुटानबाट बिजुली आयात गर्न चाहेको बताएको छ ।

भारतको औपचारिक भ्रमणमा रहेकी बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले भारतीय समकक्षी नरेन्द्र मोदी तथा अन्य मन्त्री तथा सरकारी अधिकारीहरुसँगको वार्तामा सो कुरा बताएकी हुन् । दुईपक्षीय वार्तापछि जारी गरिएको विज्ञप्तिमा समेत सो कुरा उल्लेख गरिएको छ । हसिनाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई यो प्रक्रियाको सहजीकरणको लागि आग्रह गरेकी छन् ।

‘हामीले नेपाल र भुटानबाट  भारतीय भूमि हुँदै क्रसवोर्डर बिजुली आयात गर्ने सम्बन्धमा छलफल गरेका छौं,’ मोदीसँगको भेटघाटपछि हसिनाले भनिन् ।

अहिले भारतले भुटानबाट बिजुली  आयात गरेर नेपाल, बंगलादेश र म्यानमारमा निर्यात गर्ने गर्दछ । तर, हसिनाको अभिव्यक्तिले बंगलादेशले सिधैं बंगलादेश र भुटानसँग बिजुली किन्न खोजेको देखिन्छ । यस प्रस्तावलाई भारतले कसरी लिएको छ भने यकिन भएको छैन । नेपाल र भारतको बीचमा तीन वर्ष अगाडि विद्युत् व्यापार सम्झौता भएको थियो । तर, नेपाल, भारत, बंगलादेश र भुटानबीचको विविआइन फ्रेमवर्कअनुसार  नेपालले बंगलादेशलाई बिजुली निर्यात भने गर्न सक्छ ।

पछिल्लो समयमा बंगलादेशीका केही लगानीकर्ताहरुले नेपालका हाइड्रोपावर परियोजनामा लगानी गर्नका लागि इच्छुक रहेका छन् । भारतको ट्रान्समिसन लाइन प्रयोग गरेर बिजुली बंगलादेशलाई बेच्ने विषयमा कुराकानी भइरहेको समेत बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशी प्रधानमन्त्रीको बीचमा भुटान, बंगलादेश, नेपाल र भारतका बीचको चार देशीय परियोजनलाई अगाडि बढाउने विषयमा समेत छलफल भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार